बलराम गौतम वीरगञ्जमा मृत फेला

पोखराका व्यवसायी एवं सहकारीकर्मी बलराम गौतम विरगञ्जमा मृत फेला परेका छन् ।

गत माघ २ गतदेखी सम्पर्कविहीन बनेका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेका हुन् । उनी सम्पर्कविहिन भएदेखि खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो ।

गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी दिएका थिए । सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ ।
त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिने प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ ।

पोखरा–१९,साबिक पुरुन्चौर–५,उपल्लो चुरुङ्गा घर भएका गौतम हाल पोखरा –४ गैह्रापाटन बस्थे । गौतम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । उनका श्रीमती र ३ छोरी छन् ।