डा पुष्पा भण्डारीलाई सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित ईन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले सिफारिस गरेका प्रतिभाबाट भण्डारीलाई सम्मान गर्ने समाजको शुक्रबारको बैठकले निर्णय गरेको हो ।

प्रतिभा छनोट समिति सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख ््््््््प्राडा कुसुमाकर न्यौपाने र प्राज्ञ हरिदेवी कोइराला थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी थिए ।

भण्डारीलाई १० हजार १ सय नगद, दोसल्लासहित सम्मान गरिने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए । आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको अक्षयकोषको ब्याजबाट संस्थाले सम्मान गर्दै आएको छ । अक्षयकोषको राशि हाल १ लाख ६१ हजार १ सय ११ छ ।

लायन्स क्लब अफ पोखरा अर्पण, ओम् शिवशक्ति कल्याणी केन्द्र पोखरा र क्षत्री महिला समाज नेपालकी संस्थापक अध्यक्ष डा. भण्डारी साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील छिन् । भण्डारीका ‘केही सुसेलीः केही सुस्केरा’ कवितासङ्ग्रह, ‘संगम’ र ‘जिन्दगीको दोसाँधमा’ दुई मुक्तक सङ्ग्रह प्रकाशित छन् ।

‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिकाः लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत हुन् ।

साहित्यकार बालकृष्ण समको १ सय २१ औं जन्म जयन्तीको सन्दर्भमा माघ २४ गते हुने समारोहमा भण्डारीलाई सम्मान गरिने भएको छ ।