पञ्चासेको छहारी फेवाको काखमा पर्ने कास्कीको सिधाने भन्ने ठाउँमा बुवा चेतनाथ र आमा जम्मावती पौडेलका कोखबाट २०३० सालमा जन्मनु भएका मुक्तककार विष्णुप्रसाद पौडेलको फेवाका तरङ्गहरु मुक्तक संग्रह हालै बजारमा आएको छ । यस कृतिमा दुई सय पचास मुक्तक समावेश गरिएका छन्।
विष्णुका मुक्तकले धेरैजसो समसामयिक विषय उठान गरेका छन्। केही मुक्तकले जीवन भोगाइको कथा बोलेका छन् । केही मुक्तक भने प्रेमील छन्। समय, परिस्थिति र देशको वर्तमान अवस्थालाई टपक्क टिपेर लेखेका मुक्तकमा विविधता छ । सानैदेखि जीवन संघर्षमय रहेको र गाउँ घरमा घाँस दाउरा बन् पाखा गर्दै स्कूल पढ्दाको झल्को,गाउँ बेसीको झल्को छ ।
कास्कीको सिधाने गाउँ पनि पर्यटकीय हिसाबले सुन्दर अनि रमणिय छ । फेवाको सिरानदेखि पामे, थुलाखेत, घाँटी छिना, दम्दमे , कुडबिडाडा, हर्पन, चैनपुर तमागी भदौरे देउराली हुँदै भञ्ज्याङ र पन्चासेसम्मको दृश्य कल्पनामा रहेर लेख्ने र प्रकाशमा ल्याउन आँट उनले गरेका छन् । यस कृतिको प्रकाशन चन्द्रप्रकाश गुरुङले गरेका हुन् । मान्छेले पढेरभन्दा पनि परेर धेरै कुरा सिक्छ ।
हामी जन्मभूमि छोडेर जीवन भोगाइका क्रमममा प्रदेशी भूमिमा नैं रहिरहेका छौ भने विष्णुले विदेशमा आएर पनि स्वदेशमै फर्किएर आफ्नै माटोमा रमाएको कुरा व्यक्त गरेका छन्। बिष्णु चन्द्रप्रकाशका बालसखासमेत हुन् । अग्रज साहित्यकार सरुभक्तले लेखेका छन्, कविहरु प्रायः सुखद भावनाले भन्दा दुःखद् भावनाले कवि बन्छन्। दुःखका बेला मानिसका अन्तर हिर्दयमा अनेक मानवीय, सामाजिक र दार्शनिक प्रश्नहरू उदय हुन्छन्।
श्रीधर त्रिपाठीले आफूले पढाएका विद्यार्थीले साहित्यको बाटो रोजेकोमा खुसी व्यक्त गरेका छन् । अबका दिनमा पनि अग्रजको साथ सहयोग, हौसलालाई सम्मान गर्दै साहित्यलाई निरन्तरता दिने कुरा बताएका छन्। विष्णुको पहिलो कृति भएका कारण पनि कमी, कमजोरी छन् । अहिलेलाई पुस्तक लेखनमा साहित्यको फाँटमा एउटा ईट्टा थपिएको छ। यस ईट्टासँगै विष्णुका धेरै साहित्यका ईट्टाहरु बलिया र सुन्दर बन्दै जानेछन् भन्ने मेरो ठम्याइ छ ।
भण्डारी सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेश अध्यक्ष हुन्




