पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आइतबार भएको रक्तदानमा २९ युनिट रगत संकलन भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्की, नेपाल मोबाइल वितरक संघ गण्डकी र नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकीको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमममा नेपाल रेडक्रस सोसाइटी गण्डकी अध्यक्ष सूर्यप्रसाद ढकालले विज्ञानले धेरै प्रगति गरिसक्दा पनि रगतको विकल्प रगत नै भएको बताए । उनले नेपालमा स्वयंसेवी रक्तदाताको रगतबाट रगत आपूर्ति भइरहेको जनाउँदै बर्सेनि रगतको माग बढिरहेको सुनाए ।
नेपाल घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमलप्रसाद न्यौपानेले पेशागत, सामाजिक संघ, संस्थाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजका लागि योगदान गरिरहेको बताए । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्की अध्यक्ष नारायण सुवेदीले व्यवसायीले यही समाजमा व्यवसाय गरी आयआर्जन गर्ने भएकाले त्यसको मुनाफा र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको बताए ।
संघका महासचिव चिन्तामणी खरेल ले कार्यक्रम सन्चालन गरेका थिएभने बितरक संघ का सचिव बिनोद केसि ले स्वागत मन्तब्य गरेका थिए।




