कविता: एक मिनेट मौनधारण

संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो
सभा, सेमिनार या पोलिट्ब्युरोमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु
मौनधारण गरिरहेछन् ।

तस्करले बर्थडेमा थमाएको उपहार
हिरा–घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगै
गद्दार सरकार
एक मिनेट कला प्रदर्शन गरिरहेछ ।
सहिदका रगत लत्पत राष्ट्रिय झण्डा उचालेर
सहिदका आस्था–समाधि टेकेर सख्त
उभिरहेछन् राष्ट्रसेवक मौन मौन
गम्भीर !,
संसारको सबैभन्दा कठोर काम
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो ।
सार्वजनिक शौचालय
या सहर, सडक,गाउँ–गल्ली, देउरालीमा
दुई हातले थिचेर गानो
खरबौं खरब मिनेट उभिरहेछ
मेरो देश !

जब कि–
एक मिनेटमा
सहिद–स्वप्नले धर्ती विचरण गरिसक्छ
एक मिनेट भूइँचालो आयो कि सृष्टि अदलबदल हुन्छ
ठण्डा दिमागले
एक मिनेट सोचेका भए शासकले
इतिहास यस्तो हुँदैनथ्यो,
हत्या गरिनुअघि सहिदलाई
एक सेकेण्ड बाँच्ने फुर्सद दिइएन
गडबढ भएर एक सेकेण्ड
भुर्कुट भए योद्धाहरु,
सृष्टिकालदेखि मौनधारण गरिरहेछ मेरोे हिमाल
त के हुन्छ यो एक मिनेट मौन धारणले ?
हर एक मिनेट मौनधारणमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ ।

संसारको सबैभन्दा उत्कृष्ट नाटक
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो ।

फेसबुुकबाट