कविता: सत्ता साझेदार र सिद्धान्तका टिपोटहरु

हामी सत्ता साझेदारहरु
हाम्रो बैठक अहिलेको लागि टुङ्गिएको छ
केही समझदारीहरु भएका छन्
फेरि पनि थुप्रै भागबण्डा मिलाउन बाँकी नै छन्
तर पनि हामीले केही महत्वपूर्ण निर्णय गरेका छौं
प्याकेजमा लिल गर्न खोजेका हौं
तर अहिलेलाई बल्ल बल्ल भागबण्डा मिलाएका छौं
शक्ति बाँडफाँटका कुराहरु बुझेको अभिनय गरेका छौं
खासमा यतिखेर हामी मन्त्री बनेका छौं
र केही साथीहरुलाई मन्त्री बनाउन सफल भएका छौं !

कहाँ तपाईंहरु-
जनता र जनजीविकाको कुरा गर्नुहुन्छ
विकास र न्यायको कुरा गर्नुहुन्छ
किसान र मजदुरको कुरा गर्नुहुन्छ
बल्ल बल्ल भागबण्डा मिलेको हो
जनताका आवश्यक्ताहरु भन्दा धेरै लामा छन्
मन्त्री बन्न चाहनेहरुको सूची
मन्त्री बन्नका लागि पार्र्टी भित्रिन चाहने, र
मन्त्री बन्न नपाए
पार्र्टीबाट बाहिरिन चाहनेहरु पनि थुप्रै छन्
त्यसपछि फेरि
सरकार ढल्ने वा ढाल्ने खेल सुरु भएन भने
सिंहदरबारभित्र विचौलियाहरु घुम्न आएनन् भने
र निरीक्षण र निर्देशनबाट फूर्सद मिल्यो भने
बल्ल बाँकी कुराहरु बारे सोच्ने न हो

हत् तपाईंहरु पनि, अझै हामीमा-
सिद्धान्त, विचार र आदर्श खोजिरहनु भएको छ
बन्दूकको नालबाट फूलका गुच्छाहरु निस्केको
देख्न थालेका छौं हामी आजकाल
काँटी ठोकेका बुटहरुबाट अकुपञ्चरको उपचार हुन्छ
भन्न पनि थालेका छौं हामी आजकाल
र प्रतिगमन नै अग्रगमनको बाटो हो भन्ने
निष्कर्षसम्म पुग्न पनि गाह्रो हुने छैन यतिखेर हामीलाई

हेर्नुस् न, हामीहरुबीच-
घाँटीमात्र होइन, पेट पनि जोडिएको देख्नु हुनेछ