विचारमा शून्य घोलिएको समय


कहिलेकाहीँ
म
चुपचाप केही सोच्दै हुन्छु
सायद
विचारमा शून्यता मिसिदैँ गएको
समयलाई सोच्दै हुन्छु

हो
तिम्रा र मेरा
कल्पना र भावनाका आँखाहरूले
गर्न खोजेको यात्राबिचको विचारमा
शून्य घोलिएको
समयलाई नै सोच्दै हुन्छु

खै किन हो कुन्नि
जहिले
प्रतिक्षा मात्र ठिङ्ग उभिरहेको हुन्छ
तिम्रो र मेरो बिचमा
अनि खोइ कसरी सुरक्षित रहन्छ होला
त्यो मिठो प्रेमको भुगोलभित्रको
मिठो स्मृति!

तिमीले अनुभव गरेका छौ?
यो समयले
उसको सम्झनामा बाँधेर राखेको हुन्छ
कैयौँ वर्ष पुरानो हाम्रो इतिहासलाई
पिठ्यूँमा बोकेको हुन्छ
हाम्रो वर्तमानलाई
र
धावित हुँदै जान्छ अनगन्ती आउँदै गरेका
नयाँ वर्षहरूभित्र

तर
ती नयाँ वर्षका
प्रत्येक साँझहरूमा
तिम्रो र मेरोबिचमा
तालमेल नभएको विचारले
घिसार्दै ल्याइरहेको हुन्छ
घामछायाँ जस्तै
तिनै पुराना दिन र रातहरूका
व्यक्त र अव्यक्त कथाहरू!

अनि,
तिनै कथाभित्र निष्कर्षहीन अर्थहरू
सुर्ताइरहेका हुन्छन्
छट्पटाइरहेका हुन्छन्
आफ्नै सडकमाथि निर्बिकार हिँड्न पाउने
र
आफ्नै माटोमाथि निष्पक्ष अँटाउने
अधिकार खोज्दा खोज्दै
खोज्दा खोज्दै
तिर्खाले सुकिसकेको मुटु आफ्नै हत्केलामा बोकेर!