दुर्घटनाबाट मर्माहत छौंः श्रमिक मोर्चा

आइतबार पोखरामा यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रमिक समुदाय मोर्चा गण्डकी प्रदेशले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

मोर्चाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका ५ जना श्रमिक समुदायकासहित सबैमा श्रद्धाञ्जली अर्पण गरेको हो ।

मोर्चाका गण्डकी प्रदेश इन्चार्ज उमेश सिके र संयोजक कुमार परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका परिवार र आफन्तजनप्रति समवेदनासमेत प्रकट गरिएको छ । नेपालमा पटक पटक विमान दुर्घटना दोहोरिनु निकै दुखद भएको उल्लेख गर्दै विज्ञप्तिमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

काठमाडौंबाट अइतबार बिहान ६८ यात्रु र चालक दलसहित ७२ जना यति एअरको जहाज अवतरणका क्रममा पोखरामा दुर्घटना भएको थियो । घटनामा ज्यान गुमाएकामध्ये ६९ जनाको शव प्राप्त भएको छ ।

दुर्घटनामा श्रमिक समुदायका ५ जनास हरि परियार, लक्ष्मी परियार, रीता परियार, बन्दना सुनार र शिशु कृष परियारले ज्यान गुमाएका छन् ।

सरकारले गठन गरेको छानबिन समितिले सोमबारदेखि नै काम सुरु गरिसकेको छ । यता मृतकका शवहरुको पोस्टमार्टम गर्न थालिएको छ भने मंगलबार बिहानबाट आफन्तलाई शव जिम्मा लगाउने तयारी छ । विदेशी, आफन्तले लैजान चाहेका र पहिचान खुल्न नसकेकाहरुको पोस्टमार्टम भने राजधानीमा हुने भएको छ ।

दुर्घटनामा परेका बाँकी ३ जनाको शव मंगलबार पनि खोजी गरिने कास्की प्रहरीले जनाएको छ ।