सरकारलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहालले ससदबाट विश्वासको मत पाएका छन् । दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेसले संदाहाललाई विश्वासको मत दिन हृवीप नै लगाएको थियो ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २ सय ७० सांसदमात्रै सहभागी भएका थिए ।

विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए।