गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री छानिने, के के छन् विकल्प ?

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गतेभित्र सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन उनले बिहीबार आह्वान गरेका हुन् ।

बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको राप्रपा यहाँ निर्णायक छ । मुख्यमन्त्री, सभामुख, मन्त्री लगायतका पदमा दलहरुबीच घनिभूत छलफल भएको छैन ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

गण्डकीमा कुनै एक दलको बहुमत छैन । ६० सदस्यीय प्रदेशसभामा कांग्रेस २७ सिटसहित पहिलो छ भने एमाले २२ सिटसहित दोस्रो दल हो । यहाँ माओवादी केन्द्रका ८, स्वतन्त्र सांसद १ र राप्रपाका २ सांसद छन् ।

केन्द्रमा अहिलेको गठबन्धन सरकारलाई समर्थन गरेको राप्रपा यहाँ निर्णायक छ । सत्ता बाँडफाँडको चाबी बोकेको राप्रपाले के के माग गर्ने हो भन्नेमा सरकारको स्वरुप निर्धारण हुनेछ ।