माघ ८ गतेदेखि हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल टे«निङमा माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ गत संस्करणको विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, गण्डकी प्रदेशको टिम र विदेशी टिमको रुपमा एसटी जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंकाले सहभागिता जनाउनेछ । महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, र होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस क्लब सहभागी हुनेछन् ।
राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । जुन अघिल्लो संस्करणको भन्दा दोब्बर हो । प्रतियोगिताको उपविजेता टिमले २ लाख ५० हजार पाउँदा तेस्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।
महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १ खेलाडीले जनही २५ हजार पाउने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले बताए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र ट्रफी प्रदान गरिनेछ । टाइगर कप अन्तर्राष्ट्रिय स्तरमा नै हुन थालेको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष शर्माले बताए । विदेशी क्लबसमेत प्रतियोगितामा सहभागिता जनाउन लालायित हुन थालेको उनको भनाइ छ । प्रतियोगिता गर्न ८० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता स्थलमा एलइडी स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गर्ने तयारी छ । जसले प्रतियोगितालाई प्रविधिमैत्री बनाई अन्तर्राष्ट्रिय स्तरको बन्न सहयोग पुग्ने अध्यक्ष शर्माले बताए । प्रतियोगिता कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी विशेष प्रकारको अस्थायी प्यारापिट निर्माण गरिने अध्यक्ष शर्माले जानकारी दिए ।





