पोखरा, १२ पुस
दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १ सय ४ वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा वस १९७५ मा जन्मिई पोखरा २१ मा मजदुरी गर्दै १४ वर्षअघि पोखरा वृद्धाश्रममा आएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।
पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवं पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवं पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।
पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाका लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको योगीले बताइन् ।
पोखरा २१ वडा अध्यक्ष दीपक सुवेदीले आप्mना जन्मदाता बुबा आमाको समेत उचित सेवा पु¥याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न, असहाय ज्येष्ठ नागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुवा र सेवक सेविकासहित ५५ जना रहेको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले ज्येष्ठ नागरिक दिवसको महत्वको बारेमा चर्चा गरेका थिए ।






