तिमीले लगाउने चश्मा कालो थियो
तिमीले लगाउने टोपी कालो थियो
तिमीले ओढ्ने छाता कालो थियो
तिम्रो जुत्ता कालो थियो
तिमीले खनेका राजमार्गहरु काला थिए
तिम्रा कारखानाले फाल्ने धुवा कालो थियो
काला थिए कृषि औजार
काला थिए बाँसबारी जुत्ता
काला थिए गोरखकाली टायर
तिमीले लेखेका श्रमका कविताहरु काला थिए
तिमीले लेखेका माटोका गीतहरु काला थिए
खासमा तिम्रो कलम पनि कालो थियो
मसि पनि कालो थियो
र तिम्रा अक्षर पनि काला थिए
कि देशप्रति तिम्रो नियत नै कालो थियो !?
तिमी अस्ताएपछि बल्ल
सेतो हिमालमाथि सेतै घाम उदायो
सेतै जून उदायो
आहा कति सेतो सत्ता
कति सेतो शक्ति
कति सेतो राजनीति
कति सेतो न्यायालय
कति सेतो धन
कति सेतो मन
कति सेतो इमान
कति सेतो स्वाभिमान
कति सेतो देशभक्ति
जता हेर्यो उतै सेतो -सेतो देख्दा
जता हेर्यो उतै उज्यालो -उज्यालो देख्दा
म सतप्रतिशत विश्वस्त भएँ
उ कालो नै हो
तिमीहरु सेता नै हौ
ति दिन काला नै हुन्
यि दिन सेता नै हुन्
लौ न यो सेतो रङ्गको उज्यालोले
मेरा त आँखा नै तिरमिराए !






