अध्यक्षको कार्यकक्षमा तालाबन्दी छ । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कार्यकक्ष बाहिर अफिस सन्चालन गरेका छन् ।
फेदीखोला गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले गरेको तालाबन्दीले सेवाग्राहीलाई अफ्ट्यारो नहोस् भनेर गापा अध्यक्ष सुबेदीले खुल्ला आकाशमुनि कार्यालय चलाएका हुन् ।
कार्यपालिका बैठक आह्वान नगरेको लगायत विभिन्न माग राख्दै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बुधबार अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । कार्यपालिका बैठक आह्वान नगरेको, करारका कर्मचारीको आफूखुसी म्याद थप गरेको, आवश्यक समितिहरु गठन नगरेको लगायत विभिन्न १२ वटा माग समेटेर गाउँ सभा सदस्यहरुले ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसले कार्यपालिकामा बहुमत ल्याएको थियो । बहुमत ल्याएपछि रचनात्मक सहयोगमा आउनुको साटो गाउँ सभा नै हुन नदिने जस्ता कार्य गरिसकेका जनप्रतिनिधिले अहिले गरेको तालाबन्दी पनि त्यसैको निरन्तरता भएको स्थानीयको दाबी छ ।
नेकपा एमालेबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका केही ब्यक्तिको इसारामा जनप्रतिनिधि चल्नु दुःखद भएको नाम उल्लेख गर्न नचाहने स्थानीय बताउँछन् । बैठक छोडेर हिड्ने, बैठकमा विषयबस्तुमाथि छलफल नगर्ने, मोबाइलमा आएको एसएमएसको इशारामा चल्ने जस्ता हर्कतले जनप्रतिनिधिहरुकै साख गिरेको गाउँपालिका प्रवक्ता अबिलास गुरुङ बताउँछन् ।







