कविता: अधुरो अध्याय

बन्द झ्यालहरूपछाडि
एउटा सिङ्गो आकाश छ
बिचमा एउटा अस्पष्ट सीमा
आकाश, आधा आधा रे

बन्द ढोकाभित्र बस्छिन्
एउटी सिङ्गै नारी
एउटा मन
दुइटा आँखा
एउटा मस्तिष्क
जिउमा भिरेर

घरका भित्ताहरू
अनि भित्ताले घेरेका घरभित्रका घरहरूमा
उनीजस्तै नारीका तस्बिर छन्
सालिक र मूर्तिहरू छन्
साँझ बिहान दुई थुँगा फुल
केही चानचुने पैसा
साष्टाङ्ग प्रणामको आशामा बाँचेका

घरभित्रकी अर्कीलाई यिनै तस्बिरहरू देखाइन्छ
सान्त्वनाका बेजोड उदाहरण
मान्यताका प्रमाण

चरक्क चर्किन्छ
पैतालामुनिको जमीन
यथार्थको धरातल भुइँचालोले हल्लिन्छ
आस्था र प्रथासँग
घमासान लडाइँ चल्छ
दुर्गा र कालीसँग
कुन्ती र द्रौपदीको अन्त्यहीन लडाइँ

बाटाभरिका आस्थाका स्थलहरूमा
मिराबाईका भजन घन्किन्छन्
मिराहरू बलात्कृतको आश्रय शिविरमा थन्किन्छ्न्

पाठकवर्ग !
यो युग-निष्पक्ष ट्रेजिक कथाको
एउटा मात्र अध्याय हो
अरू कथा आफ्टर द ब्रेक।