लैंगिक हिंसा रोक्न जिफन्टले बनायो आचारसंहिता

कार्यस्थलमा हुने लैंगिक हिंसा रोक्न नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आचारसंहिता जारी गरेको छ । आचारसंहिताका बारेमा जिफन्टले सबै प्रदेशमा कार्यशाला गरी कार्यकर्तालाई प्रशिक्षित गरेको महासंघ संसदीय तथा स्थानीय तह संयोजन कमिटी अध्यक्ष मीना गुरुङले जानकारी दिइन् ।

जिफन्ट गण्डकी प्रदेश कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले लैंगिक हिंसा समाजमा लुकेको अपराध भएको बताइन् । उनले नेपालको संविधानको धारा २८ ले सबै प्रकारको हिंसालाई अन्त्य गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरिन् ।

‘नेपाली श्रमिकलाई कार्यस्थल तथा घर परिवारमा धेरै प्रकार हिंसा छ,’ उनले भनिन्, ‘व्यवस्थापन पक्षले श्रम ऐनमा व्यवस्था भए अनुसारको न्यूनतम पारिश्रमिक नदिनु तथा समयमा तलव लगायतका सेवा सुविधा नपाउनुसमेत एक प्रकारको हिंसा हो ।’
उनले समय क्रम अनुसार हिंसाका स्वरुपहफेरिएको चर्चा गरिन् ।

लंैगिक हिंसाका घटना लुकाउन नहुने तथा हिंसा सहने विषय नभएको उल्लेख गर्दै उनले हिंसा गर्ने पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनपर्नेमा जोड दिइन् ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारीले घरेलु हिंसा, यौन जन्य हिंसा र दुव्र्यवहार, कार्यस्थल र राजनीतिक क्षेत्रमा हिंसा भएको बताइन् ।

उनले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यशाला गरेको जानकारी दिइन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले लैंगिक हिंसा रोक्न जिफन्टले आन्तरिक रुपमा आचार संहिता जारी गरी कार्यान्वयनमा ल्याएको बताए ।
घरदेखि कार्यास्थलसम्म हिंसा हुने गरेको जानकारी दिँदै उनले कुनै प्रकारको हिंसा भए युनियनको कमिटीमा राख्न निर्देशन दिए । उनले जिफन्टले जारी गरेको आचारसंहिता साधारण सदस्यदेखि अध्यक्षसम्मले पालना गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी सहसचिव संगीता पाण्डे र कार्य समिति सदस्य ममता गौतमले सबै मिलेर सबै प्रकारका असमानता र लैंगिक हिंसा अन्त्य गर्नका लागि सरोकारवाला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।