कविता: गोर्खाली मनका नीलडामहरू

खोतल्नु हो भने
उहिल्यैदेखि माटोमा गाडिसकेका
प्रत्येक हड्डीमा कुँदिएको भेटिन्छ
यो लामो इतिहासको
पुरानो भन्दा पनि पुरानो
गोर्खाहरूको गौरवशाली अस्तित्व र
प्रभुत्वका लामा अध्यायहरू

यी अध्यायहरूका एक एक
हरफ पढ्दै जाँदा पक्कै पनि
भेट्टाएका छौ तिमीले
गोर्खालीको एक गौरवशाली
दस्तावेजको साँचो मानचित्र

र पनि
कसरी भन्न सक्छौ तिमी
एउटा सम्पूर्ण इतिहासलाई
अपूर्ण अध्यायको दस्तावेज
मात्र हो भनेर !

अब प्रत्येक गोर्खाली मनका नीलडामहरूले
जन्माइसकेका छन्
आफ्नो अस्तित्व उजागर गर्न सक्ने
तिम्रो चेतनाको ढोका खोल्न सक्ने
प्रतिबद्धताको भावना

यो देशको
यो मातृभूमिको
मलिलो माटोको कोखमा नै
हाम्रा आशा र आकाङ्क्षाहरू
हिमालय पर्वत श्रृङ्खलाजस्तै गरी
ठिङ्ग उभिने छन्
सधैँको लागि
सधैँको लागि।