खगराजः जित सहज, मुख्यमन्त्री अनिश्चित

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी संघ छाडेर प्रदेशसभा झर्लान् भन्ने कमैलाई लागेको थियो । संघीय सांसद र गृहमन्त्रीसमेत भइसकेका अधिकारी यसपालिको चुनावमा कास्की १ (१) मा उम्मेदवार बने ।

गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा र उनका अलग अलग गुट भएको गण्डकीमा एमालेलाई आफ्नैबाट अप्ठेरो पर्ने विश्लेषण हुँदै थियो । संयोगले पृथ्वीसुब्बाले संघ र खगराजले प्रदेशमा चुनाव जितेका छन् । अघिल्लो पटक आफैंले मत मागेका माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालामाथि खगराजले सहज जित हाँसिल गरे । खगराज १५६२३ मत पाएर विजयी बनेका छन् भने निकटतम् प्रतिस्पर्धी दीपकले ११६२७ मत पाएका छन् ।

गण्डकीको अहिलेसम्मको अंक गणित हेर्दा कांग्रेसअघि छ । एमाले वा कांग्रेस दुवैको एकल सरकार बन्ने सम्भावना छैन ।

अधिकारीको गण्डकी प्रदेशयात्रा सहज भए पनि मुख्यमन्त्री बन्ने चाहना भने पूरा हुन कठिन छ । गण्डकीको अहिलेसम्मको अंक गणित हेर्दा कांग्रेसअघि छ । एमाले वा कांग्रेस दुवैको एकल सरकार बन्ने सम्भावना छैन । अहिलेसम्म कांग्रेसले १६ सिट जितेको छ भने १ सिटमा अघि छ । एमालेले १2 सिट जितेको छ भने २ सिटमा अग्रता छ ।

यहाँ माओवादी केन्द्रले ५ सिट जितेको छ भने सत्ता गठबन्धनमै सामेल स्वतन्त्र उम्मेदवार राजीव गुरुङ पनि निर्वाचित भएका छन् । स्याङ्जा २ को मतगणना सुरु हुन सकेको छैन । ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ ।

प्रदेशमको समानुपातिकमा एमाले सबैभन्दाअघि छ । केन्द्रमा अहिलेकै गठबन्धन कायम रहे गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने करिब निश्चित छ । कांग्रेस र माओवादी केन्द्र मिले प्रदेशमा बहुमत पुग्छ ।

केन्द्रमा माओवादी, एमाले मिले प्रदेशमा खगराज नेतृत्वमा सरकार बन्न सक्छ । तर, यसको सम्भावना अहिले नै कम देखिन्छ ।