कांग्रेसका शक्तिशाली नेता हराउँदै सांसद बने पूर्वआइजिपी प्रधान

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्। नेपका एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल भएका हुन् । क्षेत्र नम्बर २ को १ मा स्वतन्त्र का खड्ग बस्नेत र २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार प्रदेशसभामा विजयी भएका छन् ।