दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । अन्तर १९६ मत छ ।
यस पटक दुई दलका महासचिव पराजित भएका छन् । यसअघि लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।
को हुन् रेखा शर्मा ?
२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । त्यस्तै २०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी थिइन् । त्यस्तै उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादी को केन्द्रीय सदस्य भइन् ।
२०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत रहिन् उनी । त्यस्तै गत वर्ष सम्पन्न माओवादी महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य बनिन् ।
२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा थिइन् ।
शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उनी २०७० र २०७४ मा समानुपातिक सांसद थिइन् ।