कुमारजीले अघि सारेका योजनाको दायित्व लिन्छुः विन्दु

गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले कुमार खड्काले अघि सारेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्यक्ष उम्मेदवार बनेका थापाले आफू क्षेत्र २ को विकासमा दत्तचित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै यस्तो बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएकोसमेत उनले दाबी गरे ।

थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेकोसमेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफूलाई टिकट दिएको र त्यही कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएकोसमेत उल्लेख गरे ।

कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय खड्का र आफूबीच वैमस्य भएको हल्ला फैलाइएको दाबी गरे । ‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामीबीच दुस्मनी छैन, हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्तित्व हुनुहुन्छ’, उनले भने, ‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेका योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’

उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले, ‘ममाथि दुव्र्यहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफूले तत्कालै राजनीतिबाट सन्यास लिने चेतावनी दिए ।