कांग्रेस नेता एवं गण्डकी प्रदेशका हालै बर्खास्त भएका मन्त्री कुमार खड्काले पाँच दलीय गठबन्धनलाई मत माग्ने र भोट हाल्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू कांग्रेस कार्यकर्ता भएकाले कांग्रेसकै झन्डा ओढेर मर्ने सुनाए ।
उनले भने, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका थिए । खड्कामाथि सत्ता गठबन्धन र मुख्यमन्त्रीलाई असहयोग गरेको आरोप छ । उनी कास्की २ (२) मा चुनाव लडी गण्डकीका मुख्यमन्त्री बन्न चाहन्थे । तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएपछि उनी रुष्ट थिए ।
पत्रकार सम्मेलनमा उनले पार्टी परित्याग गर्नेबारे नसोचेको सुनाए । खड्काले भने, ‘गठबन्धनका उम्मेदवारलाई मत माग्छु, भोट हाल्छु । मर्ने बेलामा पनि कांग्रेसकै झन्डा ओढेर मर्न चाहन्छु,’ उनले भने, ‘हिजो आचारसंहिता लाग्थ्यो अब लाग्दैन । चुनाव प्रचारमा लाग्नेछु । टिकट पाउँदासम्म प्रतिस्पर्धा हो । विन्दुजीसँग अब त सकियो प्रतिस्पर्धा ।’
पूर्व भौतिक पूर्वाधार मन्त्री खड्काले मुख्यमन्त्री नेपालीप्रति भने रोष प्रकट गरे । नवलपरासीमा एक सय करोडको पुल बनाउने योजनाको आफूले विरोध गरेको सुनाउँदै उनले पछिल्लो समय मुख्यमन्त्रीसँग सम्बन्ध चिसिएको सुनाए । मुख्यमन्त्रीका पनि सनसनीपूर्ण प्रकरण रहेको र त्यो समय आएपछि सार्वजनिक गर्ने उनले बताए ।




