
पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का साझा उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले आफूबिरुद्ध अर्नगल प्रचार नगर्न आग्रह गरेका छन् । प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार दामोदर बैरागी निकटका कार्यकर्ताले भ्रम छर्नका लागि बराल कालो सूचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार उजुरी दिएको उनको दाबी छ ।
गण्डकीका अर्थमन्त्रीसमेत रहेका बराल कालोसूचीमा छैनन् । कर्जा नतिरेर कालो सुचीमा परेको भन्दै उजुरी गरेकोमा ऋण नतिरेमा कालो सूचिमा राख्ने आधिकारीक संस्था कर्जा सूचना लिमिटेडमा बराल कालो सूचीमा देखिएको छैन भने युवा स्वरोजगार कोषको सचिवालयले समेत निर्वाचन कार्यालयलाई पत्र लेखेर बरालले तिनुपर्ने कुनै रकम पनि बाँकी नरहेको जनाएको हो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम तिरेपछि, उक्त बिषयमा कालो सुचीमा राख्न कुनै पत्राचार नगरिएको कोषका कार्यकारी निर्देशक बिश्व अधिकारीले बताए ।
कोषले दिएको ५० लाख सहकारीले यसअघि नै चुक्ता गरिसकेको पुष्टि भएको छ । कोषले चार वर्षअघि रकम तिर्न आग्रह सहित लेखेको पत्र सामाजिक सञ्जालमा राखेर विपक्षीले प्रचार गरेका थिए ।
उक्त सहकारी कालोसूचीमा नपरेको पनि कोषले सूचना जारी गरेर जानकारी गराईसकेको छ । विपक्षीहरुले कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेपछि उम्मेदवार बरालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक छ र यसप्रति हामी खेद व्यक्त गर्दछौं ।’
सचिवालयले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनीसमेत दिएको छ । हामी सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छौं, ‘सचिवालयले भनेको छ, ‘आगामी दिनमा पनि यस्ता घटना दोहोरिए हामी चुप लागेर बस्दैनौं । ईंटको जवाफ पत्थरले दिने चेतावनी दिन चाहन्छौं ।’
यसैबीच, उम्मेदवार बरालले अनर्गल प्रचार पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । ‘घरदैलोको अन्तिम अवस्थामा जनता भ्रमित गर्नेगरी अनर्गल प्रचार गर्नु पराजित मानसिकताको उपज हो,’ उनले अगाडि भने, ‘कालोसूचीमा परेको भनेर गरिएको प्रचार र उजुरी मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण तथा पराजित मानसिकताको पराकाष्ठा हो । आईन्दा यस्तो नगर्न म विपक्षीलाई चेतावनी दिन चाहन्छु । चरित्र हत्या गरेर चुनाव जित्ने सपना नदेखे हुन्छ, जनतालाई सबै कुरा थाहा छ ।’
बरालले विपक्षी उम्मेदवारलाई स्वस्थ प्रतिष्पर्धामा आउन पनि आग्रह गरेका छन् ।