ढोरपाटन, ३० कात्तिक
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा छन् ।। त्यसले गर्दा यहाँ निर्वाचन रोचक बन्ने देखिन्छ ।
गत स्थानीय तह निर्वाचन अगाडिसम्म एउटै पार्टीमा रहेर काम गरेका डिल्लीराम सुवेदी र नवराज पौडेलले यो निर्वाचनमा अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पधामा छन् ।
सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पौडेल कांग्रेस बागलुङको निवर्तमान सचिव । अहिले नेकपा (एमाले)बाट उम्मेदवार बनेका छन् । सुवेदी भने सत्ता गठबन्धनका उम्मेदवार हुन् । पौडेल एमालेका तर्फबाट एक्लै चुनावमा होमिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पौडेल पत्नी उषा पौडेलले जैमिनी नगरपालिकाको उपप्रमुखको टिकट नपाएपछि श्रीमान्–श्रीमती एमाले प्रवेश गरेका थिए ।
कांग्रेसले टिकट नदिएपछि एमालेमा पुगेका पौडेललाई यसपटक चुनाव जित्न सकस छ । यस क्षेत्रमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बलियो शक्तिका रूपमा मानिदै आएको थियो । त्यसमाथि गठबन्धन हुँदा एमालेमा प्रवेश गरेलगत्तै टिकट पाएका पौडेललाई चुनाव जित्न सकस पर्ने नेताहरू बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा पौडलेकी श्रीमती उषालाई एमालेले जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको थियो । तर उनी पराजित भइन् । पौडेललाई कांग्रेस बागलुङका सचिव हरिहर शर्माले पराजित गरे ।
पौडेललाई शर्माले छ हजार पाँच सय ३७ मतान्तरले पराजित गरेका थिए । शर्माले नौ हजार एक सय ७३ मत प्राप्त गर्दा पौडेलले दुई हजार छ सय ३६ मत ल्याउनुभएका थिए ।
यस क्षेत्रमा बागलुङ नगरपालिका– १२, १३ र १४ नं वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका १८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनले १६ हजार चार सय ६५ मत पाएको थियो भने एमालले सात हजार दुई सय २२ मत ल्याएको थियो ।
विसं २०७४ को निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी बनेका थिए ।। थापाले कांग्रेसका प्रकाश शर्मा पौडेललाई छ हजार पाँच सय ४२ मतान्तरले पराजित गरेका थिए । अघिल्लोपटक थापालाई वाम गठबन्धनको साथ थियो भने पौडेल कांग्रेसका तर्फबाट एक्लै चुनावी मैदानमा थिए ।
प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी साझा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य कांग्रेसको भागमा परेको हो । सुवेदी र पौडेलसहित यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्द सापकोटा र मङ्गोल नेश्नल अर्गनाइजेशनका सहवीर थापा चुनावमा छन । कुल ४६ हजार ८६ मतदाता रहेको यस क्षेत्रमा २१ मतदानस्थल र ५३ मतदान केन्द्र कायम गरिएको छ । रासस