पोखरा, २० कात्तिक
माओवादी नेता एवं कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले नेपाली जनता राजनीतिक दलभन्दा अग्रगामी भएको तर्क गर्दै चुनावमा यो पुष्टि हुने जनाएका छन् । लामिछानेले बारम्बार आफ्नै बहुमतको प्रतिनिधिसभा विघटन गर्नेले संविधान कार्यान्वयन, समृद्धि र स्थिरताको नाममा मत माग्नु लाजमार्दाे भएको तर्क गरे ।
उम्मेदवार लामिछानेले भने, ‘को कस्तो जनतालाई थाहा छ । संसद भंग गर्ने फेरि सांसद बनाइदेऊ भनी मत माग्ने यो त नाटकै भयो नि ।’ उनले संविधानको संरक्षण गर्दै समृद्ध देश बनाउन बनेको गठबन्धनका उम्मदेवारलाई जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।
पोखरा २१ पीपलडालीमा आइतबार भएको घरदैलो र कोणसभामा उनले संविधानले ग्यारेन्टी गरेका मौलिक हक सुनिश्चित गर्नेतर्फ गठबन्धनको अर्जुनदृष्टि रहेको जनाए । लामिछानेले भने, ‘हामी विपि र पुष्पलालका सपना पूरा गर्न आएको हौं । जितेपछि जनताको नाममा राष्टघात कदापि गर्दैनौं बरु जनतालाई त्यस्ता हर्कत हुन खोजे जानकारी दिन्छौं ।’
उनले पोखरा महानगरमा पछि थपिएका वडाका जनताको जीवनस्तर उकास्न चक्रपथ निर्माण, पर्यटन र कृषि पूर्वाधारमा लगानी जरुरी भएको औंल्याए । उनले भने, ‘पछि थपिएका क्षेत्रमा महानगरमा चाहिने अत्याधुनिक संरचना बनाउनुपर्छ, योजनावद्ध विकास गर्न सकिन्छ ।’
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले पोखरा २१ मा बाटो, पुल जस्ता पूर्वाधारकै समस्या भएको बताए । यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने र समृद्धिको सपनामा जनतालाई जोड्ने काम बाँकी रहेको उनको भनाइ छ ।
फेदीपाटन टोल विकास संस्थाका अध्यक्ष प्रकाश पौडेलले निर्माणाधीन दम्सादी घाटको पुल निमार्ण रोकिएको भन्दै त्यसलाई तीव्रता दिन माग गरे । पीपलडाली टोल विकास संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले पोखरा महानगरमा भएर पनि विकटमा बस्नुपरेको अनुभूति सुनाए । उनले भने, ‘अझै विकासबाट बञ्चित छौं । राम्रो मान्छेलाई भोट दिन्छौं ।’ कार्यक्रममा पार्दी खोला युवा क्लबका अध्यक्ष भानुभक्त पौडेलले वडाको अवस्थाबारे बोलेका थिए ।






