पोखरा, १९ कात्तिक
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साबिक कृस्ती गाविसबाट पोखरा १७ मा बसोबास गर्ने मतदातासँग शनिबार भएको उम्मेदवार परिचय एवं अन्तक्रियामा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता जनाइन् ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘सो सडक संघ सरकारबाट प्रदेशलाई हस्तान्तरण भइसकेको छ ।’ उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न बिभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
दुःखको परिस्थितिमा आफू अधुरा काम पूरा गर्न उपनिर्वाचनमा उम्मेदवार बन्दा यस क्षेत्रका मतदाताले पु¥याएको योगदानको कदर गर्दै उनले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्बन्धमा भूमिका निर्वाह गर्दै आएको जनाइन् ।
कास्की २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास दिलाए । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटने उनको भनाइ छ ।
मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, भीरस्वारा टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र पौडेल, मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री, ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसँगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।




