विश्वप्रकाश लामिछानेले पृथ्वीचोकदेखि चाउथेसम्म पृथ्वीराजमार्ग चक्ल्याउने अभियानको नेतृत्व गरे । उनकै नेतृत्वमा फेवातालको अतिक्रमित जग्गाबारे छानबिन भयो । त्यही समितिले दिएको प्रतिवेदनका आधारमा सर्वाेच्च अदालतले तालको मापदण्ड तोक्न, संरक्षण गर्न ऐतिहासिक फैसला ग¥यो । तिनै विश्वप्रकाश अहिले प्रदेशसभा सदस्य उम्मेदवार छन् ।
कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश शनिबार पोखरा ३३ का विभिन्न टोलमा मत माग्दै छन् । विश्वप्रकाशले आफू चुनावी अभियानमात्र नभएर समृद्धिको साधक बन्न आएको बताउँछन् । प्राकृतिक सम्पदाको संरक्षण, सौन्दर्यकरण गर्दै योजनावद्ध विकास गर्ने उनको एजेन्डा छ । उनले पोखरालाई सच्चिकै महानगर बनाउने, काम नगर्ने महा नगर हुन नदिने प्रतिवद्धता गरे ।
लामिछाने भन्छन्, ‘मुख्यबजारलाई बदल्न गाह्रो छ, सहरोन्मुख ग्रामीण वडामा आधुनिक र स्मार्ट सिटीका पूर्वाधार बनाएर नमुना महानगर विकास गर्न सकिन्छ । मसँग त्यो भिजन छ, जनताले जिम्मेवार ठाउँमा लैजानुभयो भने त्यसलाई साकार पार्छु ।’ उनले देशलाई स्थिरता, समृद्धि, सुशासन र प्रगतिको मार्गमा लैजान गठबन्धनको जित अपरिहार्य भएको जनाए ।
उनले पौवाबाट चादनी जोड्ने बाटो निर्माण गर्ने वचन दिए । सडकहरुको स्तरोन्नति, जमिनको उचित उपयोग, कृषिको व्यवसायीकरण र पर्यटन विकास गरी यो क्षेत्रमा समृद्धि खोज्न सकिने उनको भनाइ छ ।
नेपाली काँग्रेस वरपौवा टोल इकाइ सभापति कृष्णबहादुर थापाले पानी र बाटोको समस्या रहेको सुनाए । ‘कोही सिकिस्त भए, सुत्केरी व्याथाले च्यापे बोकेर हिड्नुपर्ने वाध्यता छ, महानगर शब्दले हामीलाई गिज्याइरहेको छ ।
स्थानीय तुलसी दुरा पनि थापाकै भनाइसँग सहमत छिन् । उनी पौवामा विकासको नमुना देखाउन आग्रह गर्छिन् । पौवा युवा क्लबका अध्यक्ष दिनेश रानाले चुनाव जितेपछि नफर्किने नेतृत्वका कारण आफ्नो क्षेत्रपछि परेको दाबी गरे ।
कार्यक्रम नेपाली काग्रेस पोखरा ३३ सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको थियो ।





