सार्वजनिक जग्गामा बनेको रिसोर्ट राष्ट्रपतिबाट उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको रानीपौवामा बनेको लो मुस्ताङ हिमालयन रिसोर्ट शुक्रबार उद्घाटन गरेकी छन् । गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको लगानीमा यहाँ सुविधा सम्पन्न होटल बनेको हो ।

गैरआवासीय नेपाली लामाले अवैधानिक तवरले सार्वजनिक जग्गामा रिसोर्ट बनाएका छन् । मुक्तिनाथ मन्दिरमा निजी लगानीमा मूर्ति बनाएका लामाले मन्दिर नजिकैको करिब १ सय रोपनी सार्वजनिक जग्गा कब्जा गरी रिसोर्ट बनाएका हुन् । सोही रिसोर्ट उद्घाटन गर्न राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर चढेर बिहान ९: ३० बजे मुक्तिनाथ क्षेत्र आइपुगेकी हुन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी रामचन्द्र ढकालले यसबारे आफूहरुलाई अहिलेसम्म जानकारी नभएको प्रतिक्रिया दिए । रिसोर्ट रहेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष प्रमेश गुरुङले लामाले गाउँलेसँग जग्गा लिएर रिसोर्ट बनाएको बताए । गाउँलेले ३० वर्षका लागि जग्गा लामालाई दिएको उनको भनाइ छ ।

सार्वजनिक जग्गा गाउँलेलाई प्रभावित पारी लामाले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । वडाध्यक्ष गुरुङले भने, ‘यो रिसोर्ट बन्न थालेको ७, ८ वर्ष भो, । अघिल्ला जनप्रतिनिधिको पालामा सुरु भएकाले सबै जानकारी मलाई छैन । मुखियाँहरुलाई सल्लाह गरी रिसोर्ट बनेको होला । यहाँ मुखियाको चलन छ । तपाइहरुले यहाँको कुरा बुझिदिनुपर्छ ।’

साढे २ दशकदेखि अमेरिकामा रहेका लामा मुस्ताङमै जन्मिएका हुन् । यो रिसोर्टमा ५२ कोठा रहेको रिसोर्ट व्यवस्थापनले जनाएको छ । जोमसोम र कोरालासम्म सहज सडक मार्ग बनेपछि पर्यटकलाई लक्षित गरी लामाले रिसोर्ट खोलेका हुन् । रानीपौवा हाइटमा रहेको होटलबाट मनमोहक हिमश्रृखला देखिन्छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।