पोखरा महानगरमा कार्यरत एक कर्मचारीले सामाजिक सञ्जालबाट एमालेलाई भोट मागेका छन् । महानगरको लेखा शाखामा कार्यरत छवि शर्मा तिमिल्सिनाले फेसबुकमार्फत् कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई अधिकारीलाई भोट मागेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुलीले कर्मचारीले यसरी मत माग्न नमिल्ने बताए । उनले भने, ‘ यस्तो गर्न मिल्दैन, कारवाही स्पष्टिकरणबाट सुरु हुन्छ, विभागीय कारवाही पनि हुन सक्छ ।’
तिमिल्सिना एमालेबाट कृष्ण थापा मेयर हुँदा नियुक्त भएका हुन् । गएको स्थानीय तह निर्वाचनमा नगरपालिकाका कर्मचारी महेन्द्रबहादुर गोदार लगायतले पनि सामाजिक सञ्जालबाट एमालेलाई मत मागेका थिए ।
निर्वाचन कार्यालय कास्कीका नवीन पौडेलले कास्कीमा आचारसंहिता उल्लंघनका ६ उजुरी परेको जानकारी दिए । २ लिखित उजुरी र ४ फोनमार्फत उजुरी परेको उनले सुनाए ।







