अरु प्रयोगमा रहेका भूमिगत पार्किङमा महानगरको डोजर

पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु गरेको छ । यसअघि भूमिगत पार्किङसहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो ।

अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहम महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल स्थित गरिमा विकास बैङ्क रहेको भवन लगायत स्थानमा महानगरपालिकाले डोजर चलाएको हो ।

सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ ।

‘महानगरपालिकाको निर्णय कार्यान्वयन गर्नका लागि हामी दिनरात खटिरहेका छौँ, नयाँ स्थानमा हामीले निर्माणको काम गरिरहेका छौँ, यता सामानहरू प्याक गरिरहेका छौँ, विगबजारका एक जना सञ्चालकले भने, ठुलो व्यवसाय भएका कारण केही समय त लाग्दो नै रहेछ ।’ उनले राज्यको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत जनाए ।

महानगरपालिकाले विगबजारका सञ्चालकलाई पार्किङ खालि गर्नका लागि ७२ घण्टाको अल्टिमेटम दिएको छ । ‘तपाँईहरुलाई कति घण्टा लाग्छ ? मैले २४ घण्टा मात्र भनेको होइन, ४८ घण्टा हो की, ७२ घण्टा हो ? अव दिनको कुरा नगरौँ, महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने, ‘तपाँईहरुलाई महानगरपालिकाले ३५ दिन मात्र होइन, दुई महिना बढी समय त दिइसक्यो ।’

रातदिन काम गरेर भए पनि पार्किङ खालि गर्न सञ्चालकलाई उनले निर्देशन दिएका छन् । विगबजारका अर्का सञ्चालकले महानगरको निर्देशनलाई पूरागर्न विलम्ब नगर्ने विश्वास दिलाएका छन् ।

महेन्द्र पुल स्थित सञ्चालनमा रहेको गरिमा विकास बैङ्कको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खालि गर्न महानगरपालिकाका प्रमुख आचार्यले निर्देशन दिए । साङ्केतिक रूपमा बैङ्कको अगाडी रहेको फलामको रेलिङ बार महानगरपालिकाको डोजरले मङ्गलवार भत्काइदिएको छ ।

पोखराको महेन्द्र पुल चोकमै रहेको हुलाक निर्देशनालयको कम्पाउन्डसमेत एक साता भित्र नहटाए महानगरपालिका आफैले हटाउने जनाएको छ । ‘हुलाक निर्देशनालयले आफ्नो भवन मापदण्ड अनुसार नै निर्माण गरेको छ, पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले भने, तर यसले निर्माण गरेको कम्पाउन्ड भने मापदण्ड विपरीत छ, हुलाकलाई कम्पाउन्ड हटाउनका लागि एक साता पर्खन्छौँ, एक सातामा पनि नहटाए महानगरपालिका आफैले हटाउँछ ।’ उक्त स्थान पनि पार्किङका लागि खुला गरिनेछ ।

महेन्द्र पुल स्थित सिता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भैसकेको छ । पोखराको लेकसाईड क्षेत्रका व्यवसायीले भने आफ्ना बेसमेन्टहरुलाई पार्किङ कै रूपमा प्रयोग गरिरहेका छन् । नयाँ बजार क्षेत्रमा रहेका भूमिगत पार्किङमा अहिले पनि प्रेस देखी गाडीका शोरुम तथा पार्टपुर्जाहरू बिक्री र मर्मतसम्म सञ्चालनमा रहेका पाइएको छ । तिनीहरूलाई पनि महानगरपालिकाले क्रमशः हटाउँदै जानेछ ।

महेन्द्रपुलदेखी सिद्धार्थ चोकसम्म रहेका भूमिगत पार्किङहरूलाई दुई पाङ्ग्रे र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङको रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले बताए । सडकको पार्किङलाई व्यवस्थापन गर्ने गरी काम थालिएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका क्षेत्र भित्र २५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङ सहितका भवनहरू निर्माण गरिएका छन् । ती पार्किङलाई पार्किङकै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने विश्वास महानगरपालिकाको छ ।