जनताको निराशा हटाएर उत्साह ल्याउँछुः थापा

पोखरा, १३ कात्तिक
कास्की क्षेत्र नं.२ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले जनताको मतको कदर गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्र समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे ।

‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिने छैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा छ यसपालि पनि यहाँहरुको माया पाउनेछु । गएको ५ वर्ष नीति निर्माण गरियो । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने हो,’, उनले भने ।

थापाले पोखरा ८ आफ्नै वडा पनि भएकाले यहाँका हरेक समस्यासँग आफू जानकार रहेको जनाए । विकास र समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने भनाइ उनको छ ।

यसअघि प्रदेश सांसद हुँदा पनि पोखरा ८ को विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा समेत यसको निरन्तरता हुने दिने प्रतिबद्धता गरे । थापाले आफ्नो तलब भत्ता सबै सामाजिक सेवामा खर्च गरेका छन् । निरास भएका जनतालाई उत्साह दिलाउने गरी काम गर्न चुनावी मैदानमा आएको थापा बताउँछन् ।