एमाले गण्डकीको संकल्पः गरिबलाई परिचयपत्रसहित राहत(पूर्णपाठसहित)

नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहितका विषय छन् । एमाले गण्डकीको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा मुख्यमन्त्रीका मुख्य दाबेदार मानिएका संगठन विभाग प्रमुख खगराज अधिकारी भने उपस्थित थिएनन् । गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीका आआफ्ना गुट छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्व मन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना छ ।

प्रदेश नै आवश्यक नभएको आवाज उठिरहेको अवस्थामा यसलाई बलियो बनाएर जनतालाई त्यसको व्यवहारिक रुपमै प्रत्याभूति गराउने नीति र योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए ।

प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । दवाडीले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनीहरुको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए । अझै ४ प्रतिशत जनताको घरमा बिजुली नपुगेको भन्दै त्यसलाई पूरा गर्ने उनको दाबी छ । विगतमा नेकपा एमालेको सरकार हुँदा सुरु भएका तर पूरा नभएका योजनालाई पूरा गरी नयाँ भौतिक पूर्वाधार निर्माणको योजनालाई अगाडि बढाउने उनले बताए ।

एमालेका पोलिटब्युरो सदस्य विश्वकर्माले देशलाई समृद्ध बनाएर जनताको जीवनस्तर उकास्न एमालेको बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे ।

प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै, एमाले सरकार बनेपछि कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्ने जोड दिइने प्रतिबद्धता उल्लेख छ ।

स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ ।

प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई नि;शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

शिक्षातर्फ गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ । यस्तै, प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ ।

नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले गण्डकी प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएकाले प्रतिवद्धतापत्रमा ती विषयलाई प्राथमिकताका साथ राखिएको बताए । प्रतिबद्धतापत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेको सरकारले गरेको कामलाई पनि समेटिएको छ ।

Gandaki-UML-Pratibaddata-Pdf