एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार बन्ने ठोकुवा गरेका छन्। शुक्रबार झापा ३ मा एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमालेले ती दललाई साथमा लिएर सरकार बनाउने बताए।
’आउने निर्वाचनबाट एमालेको बहुमत आयो–आयो। र, एमालेको साथमा जसपा, राप्रपा समेतको सरकार बन्छ। बहुमत आयो भनेर एक्लै एमालेले सरकार बनाउने होइन। अरु सहयोगी र सहयात्रीहरूलाई पनि साथ लिएर सरकार बनाउँछ। त्यसपछि सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोई भनेर तपाईंहरूले हिसाबकिताब माग्नुस्,’ ओलीले भने।
सोही कार्यक्रममा ओलीले निर्वाचनपछि राप्रपा राष्ट्रिय पार्टी बन्ने पनि बताए। ’अघिल्लो पटकभन्दा यसपटक फरक के पर्छ भने एमालेको साथमा राप्रपा दह्रोसँग लागेको छ। त्यसकारण यसपटक राष्ट्रिय पार्टीको रुपमा राप्रपा आउँछ। एक्लो राजेन्द्र लिङ्देन होइन अब। किनभने, यो एमालेको साथमा लागिसकेको छ। एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी त हुनै प¥यो नि, राष्ट्रिय पार्टी हुन्छ’, उनले भने।
’कांग्रेस राष्ट्रिय पार्टी रहने भयो अलि दिन। यसपटकको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ। यसपटकको हकमा, राप्रपाभन्दा अलिकति बढी सिट ल्याउने सम्भावना छ’, उनले भने, ’माधव नेपालहरूले खोलेको छ एउटा पार्टी। त्यसको कन्तबिजोग हुन्छ। राष्ट्रिय पार्टी–सार्टी केही हुनेवाला छैन।’






