देशैभर मोर्चाबन्दी गरी चुनावमा होमिएको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच पनि केही क्षेत्रमा प्रतिश्पर्धा हुँदै छ ।
जसपा गठबन्धनबाट बाहिरिँदा र लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउँदा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो।
सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका ११ स्थानमा प्रतिश्पर्धा हुँदै छ । गठबन्धनकै दलहरुबाट दुईजनाको उम्मेदवारी परेपछि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ९ स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णयमा उनीहरु पुगेका हुन्।
गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० पनि प्रतिस्पर्धाको समझदारी गरेको छ । यहाँ नेपाली कांग्रेसका राजन केसीसँग माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले यो ठाउँमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
माओवादीले दाबी गरेको यो ठाउँमा यसअघि पुष्पकमल दाहाल प्रचण्डलाई हराएका राजन केसी फेरि मैदानमा छन् । अञ्जनाले माओवादी अध्यक्ष प्रचण्डकै सहमतिमा यो क्षेत्रमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका एक जना अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि महतोलाई समस्या भएको हो।
जसपाको स्थानमा लोसपा बालुटार छिरे पनि धनुषाबाट सर्लाही फर्किएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो।
कञ्चनपुर–२ ‘ख’, कञ्चनपुर–३ ‘क’, काठमाडौं–३ ‘ख’, काठमाडौं–५ ‘ख’, काठमाडौं–६ ‘ख’, काठमाडौं–१० ‘क’, पर्सा–३ ‘ख’, बारा–१ ‘ख’ र सर्लाही–१ ‘क’मा सत्तारुढ दलका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुँदै छ । यी क्षेत्रमा सत्ता गठबन्धन दलहरुले मित्रवत प्रतिष्पर्धा गर्ने लिखित सहमति गरेर सबै उम्मेदवारको सूची नै सार्वनजिक भएको छ ।
कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख छ। कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ।
काठमाडौं–३ ‘ख’ मा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल, काठमाडौं–५ ‘ख’ मा कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा छ ।
काठमाडौं–६ ‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाडौं–१० ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलिप महर्जनसँग मित्रवत् प्रतिष्पर्धा गर्नुपर्ने भएको छ।
साझा उम्मेदवारहरुको सूची अनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाहा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका उपेन्द्र महतोबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ ।




