पोखरा, ६ कात्तिक
एमाले नेतृ मिना गुरुङले देशको कायाकल्पका लागि सबै जाति, लिंग, वर्ग, समुदायको राज्यमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा देश गए पनि प्रत्यक्षमा दलहरुले ९ प्रतिशतमात्र महिलालाई टिकट दिनुले व्यवहारमा परिवर्तन बाँकी भएको प्रमाणित गरेको उनको भनाइ छ ।
एमालेबाट कास्की २ (२) की उम्मेदवार गुरुङले भनिन्, ‘महिलालाई सधै समानुपातिक र उपामा राख्ने गरिएको छ । हामी प्रत्यक्षमा पनि लड्न सक्षम छौं । मलाई जस्तै पार्टीले मौका दिए प्रत्यक्ष लड्ने र जित्न सक्ने धेरै महिला छन् ।’
गण्डकी प्रदेशकी निवर्तमान सांसदसमेत रहेकी उनले गएको कार्यकालमा सुरु गरेका अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको जनाइन् । ‘सरकार फेरियो, हामीले थालेका काम अलपत्र परे । पूरा गर्न फेरि जनतामाझ आएकी छु,’ उनले भनिन् । पोस्सोनले आइतबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीले विगतमा गरेका काम, लिएका एजेन्डाका कारण गठबन्धनभन्दा एमाले प्रभावशाली रहेको दाबी गरिन् ।
आइतबारै पोखरा ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटनमा महिला सशक्तीकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।
एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारी र एमाले गण्डकी प्रदेश कमिटी उपसचिव रश्मि आचार्य र कास्की २ का प्रचारप्रसार संयोजक झटपबहादुर रानाभाटले समृद्धि र सुशासनको यात्रा एमालेको नेतृत्वमा मात्र सम्भव हुनेमा जोड दिए ।






