उसुमा सेनालाई ३ स्वर्ण, सान्सौमा १६ जना फाइनलमा

थाउलु पुरुष ताइची छ्वान अलराउन्डका स्वर्ण विजेता नेपाली सेनाका हरिप्रसाद गोले

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ३ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, बागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जितेका छन् ।

बुधबार बिहान भएको पुरुष चायची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ दोस्रो हुँदा नेपाल प्रहरीका मनिष बुढाथोकीले कास्य पदक हात पारेका छन् ।

यसैगरी महिला थायची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरेका छन् । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मिना ग्लान १८.४४ अंकका साथ रजत पदक जित्दा सुदूरपश्चिमकी पुष्पा कुँवरले कास्य हात पारिन् । मिनाको स्कोर १४.३१ छ ।

प्रतियोगिता अन्तर्गत बुधबारबाट सान्सौका सेमीफाइनल खेल सकिएका छन् । ती खेलबाट १६ खेलाडी फाइनलमा पुगेका छन् । पुरुष ४८ केजी समूहमा सशस्त्रका गौतम श्रेष्ठ र सेनाका यमराज थापामगर फाइनल पुगेका छन् । पुरुष ५२ केजीमा सुदूर पश्चिमका शिवराज सुनारी मगर र सशस्त्र प्रहरीका अशोक खालिङ फाइनल पुगेका हुन् ।

५६ केजी पुरुषको फाइनलमा सशस्त्रका रोहित चुनारो र बागमती प्रदेशका कान्ति लामाबीच प्रतिश्पर्धा हुने भएको छ । यस्तै, ६० केजी समूहमा नेपाल प्रहरीका मुकेश पण्डित र सशस्त्रका मंगलप्रसाद थारु फाइनल पुगेका छन् ।

बुधबार बिहान भएको सेमिफाइनलबाट ६५ केजी समूहमा सुदूर पश्चिमका पदम ठकुल्ला र नेपाल प्रहरीका सम्मन घुस्रीले फाइनल यात्रा तय गरे । ७० केजी तौल समूहमा सशस्त्रका सुवास भुल सेठी र सेनाका पदम राई अघिल्लो चरणमा पुगेका छन् ।

७५ केजीको समूहबाट सशस्त्रका अनिष शाही र सेनाका चित्रसिंह ठकुरी फाइनल पुगेका छन् । पुरुष ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जन र प्रेदश १ का उपेन्द्र मारिकले उपाधिका लागि प्रतिश्पर्धा गर्ने भएका छन् ।

आइतबार उद्घाटन भएको प्रतियोगितामा बुधबार बिहानसम्म सान्सौतर्फ १ सय बाउट खेल भएका छन् । बुधबार बिहान १५ बाउट खेल भएका छन् । बुधबार दिउँसो पुरुष नान कुन र महिला नान तावका खेल हुने कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।

थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनको उसुमा सहभागी छैन ।