पद्यश्री सहकारीको १५ औं साधारणसभा

पद्यश्री बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा शुक्रबार भएको छ । कार्यक्रममा पोखरा महानगर सहकारी विभाग प्रमुख भरतराज पौडेलले सहकारीबाट लिएको ऋण उत्पादनशील काममा लगाउन आग्रह गरे ।

उनले भने, ‘घर, व्यवहार सञ्चालनमा होइन, उत्पादन का लागि ऋण लिनुस् ।’ महानगरले सहकारीहरुलाई अभिभावकत्व प्रदान गरिरहेको जनाउँदै उनले कर छली गरे सहकारीलाई होइन, सञ्चालक समितिलाई कारबाही हुने जनाए । उनले भने, ‘कर छली नगर्नुस् बरु सहुलियत माग्नुस् ।’

सहकारीका संरक्षक एवं सल्लाहकार कपिलनाथ कोइरालाले सहकारीका मान्यता र ऐन बमोजिम कारोबार गरी पद्यश्रीले उल्लेख्य प्रगति गरेको बताए । उपभोक्ता मञ्च गण्डकीका अध्यक्षसमेत रहेका कोइरालाले नेपालको सहकारी आन्दोलनलाई उपभोक्ता मैत्री बनाउन सबै सहकारीकर्मीको जागरुकता जरुरी भएको विचार राखे ।

सहकारीका अध्यक्ष इन्दिरा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक श्यामकुमार शर्मा, उपाध्यक्ष सुजा बास्तोला, सचिव देवेन्द्र पालिखे, सदस्य शारदा पराजुली, संस्थापक अध्यक्ष सावित्रा शर्मा, शिक्षा उपसमिति संयोजक झलक कोइराला (अधिकारी) लगायतले बोलेका थिए ।

पद्यश्रीमा २१ पुरुष र १९४ महिला गरी २१५ सेयर सदस्य छन् । यसको सेयर पुँजी २ करोड ५८ लाख २ हजार छ । सभाले रिक्त ऋण लगानी समितिको सदस्यमा अनिषा बराललाई नियुक्त गरेको छ ।

सभामा अध्यक्ष कोइरालाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष उर्मिला बस्नेतले कोषाध्यक्षको प्रतिवेदन, सचिव देवेन्द्र पालिखेले सचिवको प्रतिवेदन र लेखा समिति संयोजक गणेशप्रसाद कोइरालाले लेखा समितिको प्रतिवदेन पेश गरेका थिए ।