बालसाहित्यकार सुरज उपाध्याय

आमा सधैँ हतारमा
मेरो बाबा कतारमा

माछापुच्छ्रे हिमालमा
घर त मेरो नेपालमा

दिदी सधैँ टिकटकमा
ठुल्दाइ सधैँ फेसबुकमा

भैसकेछ पौने नौ
स्कुलको बस आयो ।

माथिका पङ्क्तिहरू हुन्, साहित्यकार सुरज उपाध्यायको नयाँ बालकविता कृति ‘साइकल’ का । सानैदेखि साहित्यका विविध विधामा कलम चलाएका उपाध्याय पछिल्लो समय बालसाहित्यमा केन्द्रित छन् । स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मेका उनी हाल पोखरामा बसेर साहित्य सिर्जनामा रमाइरहेका छन् । जागिर खाएर बचेको समय बालबालिकासँग खेल्न मन पराउने उनी बालबालिकासँग खेलेरै कविता र गीत बुन्छन् । त्यसरी बालबालिकासँग खेल्दाखेल्दै दुईओटा बालकविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

भर्खरै उनको बालकविता सङ्ग्रह ‘साइकल’ प्रकाशित भएको छ । पचासको दशकबाट साहित्य सिर्जनामा लागेका उनी साठीको दशकदेखि नै गीत, गजल र कविता सिर्जनामा निकै तल्लीन छन् । २०६० सालमै उनको गजल सङ्ग्रह प्रकाशित भइसकेको थियो । बिस्तारै उनी बालसाहित्यमा लागे । सानैमा रेडियो नेपालमा बासुदेव मुनालले चलाउने बाल कार्यक्रमको स्तम्भ ‘को भन्दा को कम !’ मा कविता पठाएर थुप्रैपटक प्रथम बन्न सफल भएका थिए उनी । उनी आफैँ भन्छन्, “सायद मेरो घरमा रेडियो नभएको भए मेरो झुकाव कवितातिर हुने थिएन ।” घरमा रेडियो हुनु, रेडियोमा बेलुका पाँच बजे बाल कार्यक्रम प्रसारण हुनु, त्यस कार्यक्रममा आफ्नो कविता बज्नु नै उनको उत्साह बढाउने मुख्य स्रोत हो ।

हाम्रा वरपर रहेका र जीवनमा भोगेका घटना र परिस्थितिहरूलाई काव्यात्मक र लयात्मक शैलीमा प्रस्तुत गर्ने कला सबै व्यक्तिमा हुँदैन । आफू सधैँ परिचित रहेको विषयलाई नयाँ बनाएर पस्कने खुबी त अझ कम मानिसमा पाइने प्रतिभा हो । सुरजमा यी दुवै खाले खुबी प्रचुर मात्रामा छ । एउटा मान्छे बालक, किशोर, युवा हुँदै वृद्ध बन्छ । उसका भावना र विचारहरू पनि उमेरसँगै फेरिँदै जान्छन् । युवा भएर पनि कलिला बाबुनानीका भावनालाई हृदयदेखि नै लेख्न सक्ने प्रतिभा छ उनीसँग । फरक उमेरसमूहका भावनालाई सिर्जनामा उतार्न मनोविज्ञान अध्ययन गर्न सक्ने क्षमता हुन जरुरी छ । सुरजमा बालबालिकासँग बालकै बनेर घुलमिल हुन सक्ने क्षमता छ जसले उनलाई बालमनोविज्ञान बुझेर सिर्जना गर्न सक्षम बनाएको छ । त्यही प्रतिभाका कारण उनका साहित्यिक कृतिहरू जन्मिरहेका छन् ।

एउटै व्यक्ति फरक फरक उमेर समूहका व्यक्तिहरूसँग उत्तिकै मिल्न सक्नु निकै कठिन कार्य हो । तर सुरज बच्चासँग बच्चाजस्तै बनिदिन सक्छन् । युवाहरूसँग विद्रोही विचार लिएर युवा जोस साट्न सक्छन् । प्रौढहरूसँग बसेर व्यावहारिक गफ गर्दै घन्टौँ गफिएर बस्न सक्ने उनी वृद्धवृद्धासँग उनीहरूको समयका ऐतिहासिक कुरा गरिदिन सक्छन् । उनको यो विशेषता अजीवको छ । यही विशेषताका कारण पनि उनीलाई चिन्ने र बुझ्नेहरूले उनलाई फरक व्यक्तित्व भएको व्यक्तिका रूपमा लिन्छन् । यही विशेषताले उनलाई नेपाली साहित्यमा भिन्न परिचयका साथ स्थापित तुल्याएको छ ।

उनीसँगै खोला वारिपारि गर्ने साथीहरू कोही लोकसेवा पास गरेर अधिकृत भए, कोही राजनीति गरेर संसद्भवन छिरे त कोही पालिका प्रमुख भए । केही साथीहरू सात समुद्रपारि नयाँ सपना फुलाइरहेका छन् । विद्यार्थी जीवनमा राजनीति उनले पनि नगरेका होइनन् । लामै समय विद्यार्थी राजनीति गर्दासमेत उनले कहिल्यै छक्कापन्जा सिकेनन् । सात कक्षामा पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटिको अध्यक्ष भएका उनी इलाका कमिटि अध्यक्ष, क्षेत्रीय कमिटि अध्यक्ष हुँदै जिल्ला कमिटिसम्म पुगे । जहाँ कहीँ रहँदा पनि अन्याय नसहने उनी जिल्ला कमिटि बैठकमा भएको जातीय विभेद देखेर त्यसपछाडिका कुनै पनि बैठकमा फर्केरै गएनन् ।

उनी राजनीतिक बैठक तथा छलफलमा नगए पनि उनको विद्रोही चेत भने सधैँ उनीसँगै थियो । जुन आज पनि उत्तिकै सशक्त छ । पत्रपत्रिका र विद्रोह दुवैसँगको उनको रुचिले उनलाई लुकीलुकी ‘जनादेश’ साप्ताहिक पढ्ने बनायो । उक्त पत्रिकाका विचारहरू पढ्दै जाँदा उनको विद्रोही चेत माओवादी आन्दोलनको निकट पुग्यो । त्यहाँ पनि उनले नवसामन्तहरूकै भीड देखे । जसको फलस्वरूप उनी राजनीतिक गतिविधिबाट अलग रहे तर राजनीतिक चिन्तनबाट भने अलग रहन सक्ने कुरै भएन । उनको समाज परिवर्तनको चिन्तन राजनीतिबाट निरपेक्ष रहन थालेपछि साहित्यिक सिर्जनाका माध्यमबाट मुखरित भइरह्यो । उनलाई लाग्यो, साहित्यले राजनीतिलाई डो¥याउँछ । साहित्यबाट नै परिवर्तन सम्भव छ भन्ने उनलाई लाग्यो र लागिरह्यो । त्यसैले उनले लेखिरहे गीत, कविता र कथाहरू । त्यसका अलावा अखबारी लेखका माध्यमबाट समेत उनले आफूलाई निरन्तर अगाडि बढाइरहे । उनको लेखकका रूपमा यो सक्रियता निरन्तर अगाडि बढिरहोस्, सतत् शुभकामना !