कास्की २ मा महादेव गुरुङको बागी उम्मेदवारी

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङको प्रस्तावक र समर्थकमा बालगोपाल श्रेष्ठ र सूर्य लम्साल छन् । सत्ता गठबन्धनमा कास्की २ नेकपा एकीकृत समाजवादीले पाएको छ । यहाँ समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।

आफैं फाइल बोकेर निर्वाचन कार्यालय आएका गुरुङले आफू कांग्रेसकै उम्मेदवार भएको दाबी गरे । उनले भने, ‘यहाँ काग्रेसको चुनाव चिह्न मैले नपाए पनि अरुले पनि यहाँ पाएका छैनन् नि । कांग्रेसको आदर्श, नैतिकतालाई जोगाउन उम्मेदवारी दर्ता गरेको हुँ ।’

कांग्रेसले अरुलाई मत दिन नसक्ने भएकाले आफूले उम्मेदवारी दिएको उनको जिकिर गरे । उनले कांग्रेस आदर्श र मूल्य, मान्यताबाट बिचलित भएको दाबी गरे । जनता आफूसँग भएको र यसअघि चुनाव पनि जितेको क्षेत्र भएकाले आफूले चुनाव जित्ने उनको जिकिर छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।