श्रीनाथ कास्की २ मा गठबन्धनका साझा उम्मेदवार

नेकपा एकीकृत समाजवादी (एस)ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट पाएको नेकपा एसले उम्मेदवारहरू छानेको हो ।

कास्की क्षेत्र नं. २ मा श्रीनाथ बराल उठ्ने भएका छन् । गण्डकीमा नेकपा एसले १ मात्र संघीय निर्वाचन क्षेत्र पाएको छ । नेकपा एसले प्रदेशमा नवलपुर र स्याङ्जामा १, १ गरी २ क्षेत्र पाएको छ । प्रदेशका उम्मेदवार भने टुंगिन बाँकी छ ।

कास्की २ का गठबन्धनका उम्मेदवार बराल नेकपा एसका पोलिटब्युरो सदस्य एवं कास्की इन्चार्ज हुन् । निष्ठावान् र इमान्दार नेताको छवि बनाएका बरालको प्रतिश्पर्धा एमालेकी विद्या भट्टराई अधिकारीसँग हुने भएको छ ।

बराल जिविस कास्कीका पूर्व उपसभापतिसमेत हुन् । २०४२ सालमा ३ साथीलाई माण्डले समूहले अपहरण गरेपछि बराल १३ दिन आमरण अनसन बसेका थिए । त्यो बेला उनी पृथ्वीनारायण क्याम्पसका अध्ययनरत थिए ।

एसकी सचिव रामकुमारी झाक्री गुल्मी २ बाट उठ्ने भएकी छन् । तनहुँ २ बाट जितेका किसान श्रेष्ठ बारा( ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेमबहादुर आले