सन्दीप लामिछाने पक्राउ, परीक्षणका लागि अस्पताल लगियो

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ ।

नाबालिग बलात्कारको आरोपमा उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आफू बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिने र त्यहीँबाटै प्रहरीसमक्ष समर्पण हुने जानकारी दिएका थिए । 

आफू निर्दोश रहेको दाबी गर्दै सन्दीपले विमानस्थलमा आफ्ना कानुन व्यवसायीको उपस्थितिका लागि स्वीकृति मागेका थिए । उनले आफू ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको र यसको प्रभावको असर अकल्पनीय रहेको उल्लेख गरेका छन् ।