आइतबार पोलिटिकल साईन्स सोसाइटी नेपालको तनहॅु शाखा गठन भएको छ । भिमाद ९ को पाथर्दी सामुदायिक होमस्टेमा भएको कार्यक्रमबाट हरिप्रसाद बाग्लेको अध्यक्षतामा १५ सदस्यीय तनहॅु शाखा तदर्थ समिति गठन भएको हो ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको तनहॅु जिल्ला शाखाको प्रथम अधिवेशन तथा बिस्तारित बैठकको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा “ राजनैतिक संस्कृतिको क्षयीकरणः लोकतन्त्रको चुनौति” बिषयमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका सहप्राध्यापक भिमनाथ बरालले परिसंबाद प्रस्तुत गरे ।
बर्तमान राजनैतिक दलहरु भित्रै लोकतान्त्रिक अभ्यास नहुनु, नातावाद, कृपावाद, उपभोगिताबादी प्रवृतिको हावि, मुल्यविहिन राजनीति, गणेश संस्कृति लगायतका संस्कृतिले लोकतन्त्र संस्थागत गर्न चुनौती दिंदै गैरहेको कुराको उजागर सह प्राध्यापक बरालले गरे । निर्वाचनअघि गठबन्धन संस्कृति लोकतन्त्रको लागि प्रत्युत्पादक हुने उनको भनाइ छ ।
सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी अनिल कुमार शाही, सोसाइटीका उपाध्यक्ष फरेन्द्र थापामगर, सचिव मिलन आले लगायतले बोलेका थिए ।
अब निकट भविष्यमै बाग्लॅुगमा पनि सोसाइटीको शाखा बिस्तार हुने सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाले प्रतिबद्दता गरे ।




