विश्व रेबिज दिवसमा खानीखोलामा सचेतना

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ शान्तिदीप एकेडेमी खानीखोला तथा भुवनेश्वरी मा वि पुरानो धार्केमा एक स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सोह्रौ विश्व रेबिज दिवस सेप्टेम्बर २८ का अवसरमा धुनीबेशी नगरपालिका , नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेश, हेफर इन्टरनेसनल नेपाल र फोकस नेपाल, धादिङको संयूक्त आयोजनामा यो कार्यक्रम भएको हो ।

कार्यक्रममा जैविक प्रतिरोधक प्रतिविरोध, जुनोटिक रोग, साथै रेबिज रोगको बारेमा शान्तिदीप एकेडेमीका कक्षा ९ मा अध्यनरत बिधार्थी तथा भुवनेश्वरी मा विका कक्षा १० का बिधार्थीहरूलाई अभिमुखिकरण गरिएको थियो ।

धुनिबेसी नगरपालिका वार्ड न ८ का वड़ा सदस्य श्री राजकुमार भण्डारी ज्युको अध्यक्षतामा भएको कार्यक्रममा धुनिबेसी नगरपालिका पशु सेवा शाखा प्रमुख श्री टंक बहादुर कटुवाल, नौबिसे स्वास्थ्य चौकीका इन्चार्ज श्री गीता भट्ट शान्तिदीप एकेडेमीका प्रिन्सिपल श्री दिनेश भट्ट,हेफर इन्टरनेसनल नेपालबाट डा राजेन्द्र ढकाल र डा। मन्जिल निरौला, फोकस नेपालबाट सागर धिताल, आशिष छत्कुली, रेश्मा गिरि , लक्ष्मी भट्टराई तथा नगरपालिकाका सामुदायिक कृषि तथा भेटेरीनरी उद्धमीहरू उपस्थित थिए ।

कार्यक्रममा धुनीबेसी नगरपालिकाका पशु तथा पन्छी शाखा प्रमुख टंकबहादुर कटुवालले रेबिज रोगको बारेमा र हेफर इन्टरनेशनल नेपालका डा राजेन्द्र ढकालले एक स्वास्थ्य अबधारणाबारे प्रकाश पारे । सम्बन्धित सबै सरोकारवाला पक्षको समन्वयात्मक सहकार्यद्वारा मात्र मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्य संरक्षण तथा प्रबर्धन गर्न सकिने कुरा प्रस्ट पारे । पशुपन्छी स्वास्थ रहेमा मात्र मानिस तथा वातावरण स्वस्थ हुने भएकाले मानिस तथा पशुपन्छीका चिकित्साकर्मीले संयुक्त रुपमा एक स्वास्थ्यको मार्गदर्शन अनुरुप कार्य गरे मानिस, पशुपन्छी तथा वातावरण स्वस्थ्य राख्न सकिने कुरा पुष्टि भइसकेको उनले उल्लेख गरे ।

साथै, धुनीबेसी नगरपालिका पशु सेवा शाखाबाट निशुल्कमा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम असोज १२ गतेदेखि सञ्चालन गरिएको छ ।