काठमाडौँ, ८ असोज
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् ।
नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, “भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल ग¥यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।”
माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो¥याउँदै अध्यक्ष दाहालले भने, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।” घटनाक्रमले के साबित ग¥यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उनको भनाइ छ ।
“यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग¥यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग¥यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड–बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।” उनले भने, ‘ “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।”
संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकारे । उनले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको जनाए ।
नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरूले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उनले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पारे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरू अगाडि बढेको जनाए ।




