पोखरामा दसैं मेलाको चर्चा हुँदा टुँडिखेलको मेला हम्मेसी छुट्दैन । च्यांग्रादेखि घरेलु सामग्री, लत्ताकपडा, खाद्यान्न किन्न स्वतःस्फूत हजारौं मान्छे टुँडिखेल पुग्थे । पछिल्ला केही वर्षदेखि यो मेलाको रौनक हराउन थालेको छ । सामान किन्न मलहरु खुले, च्यांग्राहरु हेमजा फेदीदेखि टुँडिखेलसम्म सडककै छेउछाउ राख्न थालिए ।
टुँडिखेल मैदानको स्वामित्व रहेको राष्ट्रिय माविले मेला आयोजना गरी ऐतिहासिकता जोगाउने प्रयत्न गरेको छ । यसअघि त्यहाँ मैदान टेन्डर दिएर मेला व्यवस्थापन हुने गरेको थियो । टेन्डरमा लिनेले स्टलको चर्को शुल्क लिने, व्यवसायीलाई धम्क्याउने, स्टलको विषयमा झैझगडासमेत हुने गरेको थियो ।
टेन्डर प्रक्रियामा जाँदा आएका अप्ठ्यारा हटाउँदै सर्वपक्षीय भेलाले स्कुलले नै मेला आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद दवाडी बताउँछन् । मेलामा करिब डेढ सय स्टल राख्ने तयारी छ । अध्यक्ष दवाडी भन्छन्, ‘टेन्डरमा जाँदा विकृतिहरु देखिए, टुँडिखेलकै प्रतिष्ठामा आँच आयो । अब हामी नै मेला आयोजना गर्दै छौं ।’
आयोजक राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानाध्यापक कृष्णलाल बास्तोलाले स्कुलले नाफाका लागि नभएर ऐतिहासिकता जोगाउन मेला आयोजना गर्न लागेको प्रष्ट पारे ।
उहिले च्यांग्रसँग घर बुना कपडा साट्ने यो मेलालाई जीवन्त बनाउन हामी लागेका छौं । व्यवस्थापनका लागि शिक्षक, अभिभावक, स्थानीय खटिन्छौं
प्रधानाध्यापक, कृष्णलाल बास्तोला
उनले भने, ‘उहिले च्यांग्रसँग घर बुना कपडा साट्ने यो मेलालाई जीवन्त बनाउन हामी लागेका छौं । व्यवस्थापनका लागि शिक्षक, अभिभावक, स्थानीय खटिन्छौं । प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रबन्ध गरेका छौं । ढुक्क भएर टुँडिखेलको दसैं मेलामा आउन हामी सबैलाई आग्रह गर्दछौं ।’ उनले आफैंले बनाएका घरायसी सामग्री बेच्ने स्वरोजगारहरुलाई सित्तैमा स्टल उपलब्ध गराइनेसमेत उल्लेख गरे ।
मेलालाई व्यवस्थित बनाउन विद्यालय व्यवस्थापन समिति सदस्य बलराम अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
पोखरा १ का वडाध्यक्ष साहारा प्रधानको संयोजकत्वमा सल्लाहकार समिति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद दवाडीको संयोजकत्वमा १७ सदस्यीय अनुगमन समिति बनेको छ ।






