उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका छन् ।
“पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भनेका छन्, “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।”
सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उनले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो¥याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।
संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिनन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।





