नेपालका अधिकांश भूभागहरु प्राकृतिक सौन्दर्यका दृष्टिले उत्तिकै मनोहर र रमणीय लाग्दछन् भने कतिपय ठाउँहरु त अझ विशेष लाग्दछन् । सदरमुकाम, मुख्य बजार र बाटोको छेउछाउका रमणीय स्थलहरुमा धेरैको दृष्टि पुग्ने गरे पनि त्यस बाहेकका अन्य ठाउँहरुमा भने कमैको दृष्टि पुग्ने हुँदा चर्चामा आउन सकेका हुँदैनन् । हुन त सौन्दर्य भन्ने कुरा सधैं सापेक्ष नै हुने गर्छ । कुनै भोक, रोग वा मानसिक पीडाले ग्रस्त व्यक्तिका लागि प्राकृतिक सौन्दर्यले कुनै आकर्षण गर्न सक्तैन । तिनका लागि खाना, उपचार वा पीडामुक्त अवस्था पहिलो आवश्यकता हुन जान्छ । यसैले भनिएको छ—
काव्यन हन्येते शास्त्रम् काव्यम् गीतेन हन्यते
गीतम् नारी विलासेन हन्यते तत् विभुक्षया ।
अर्थात् शास्त्र पढिरहेको मानिस काव्य भेटाएपछि शास्त्र छोडेर काव्यतिर लाग्छ, काव्य पढिरहेकाले गीत–सङ्गीत भेटाएपछि काव्य छाडेर गीत–सङ्गीततिर लाग्छ, अनि गीतमा रमाइरहेको व्यक्ति नारी–विलास भेटाएपछि गीत छाडेर विलासतिर लाग्छ भने भोको व्यक्ति छ भने ती सबै कुरा छाडेर खानातिर लाग्दछ ।
भोक, रोग र चिन्ताग्रस्त अवस्था बाहेकको स्थितिमा भने प्राकृतिक सौन्दर्यले मानिसको मनलाई आकर्षित गरेको हुन्छ । सायद मानिस वाहेक अन्य प्राणीहरुले त प्रकृतिमा मात्रै सृष्टि–सौन्दर्य र सृजन–सौन्दर्य देख्दा हुन् । प्रकृतिप्रदत्त सौन्दर्य वा प्राकृत सौन्दर्य नै वास्तविक सौन्दर्य हो र यो नै सृजनाको आदि वा प्राथमिक स्रोत पनि हो ।
भौगोलिक बनावट अनुसार प्रकृतिका रुपहरु पनि फरक–फरक भएझैं त्यहाँ बस्ने मानिसहरुका सौन्दर्यका रोजाइ फरक हुन जान्छन् । हिमाली क्षेत्रमा बस्नेहरु प्रकृतिको एक खाले रुपमा सौन्दर्य देख्न पुग्छन् भने पहाडी क्षेत्रमा बस्नेहरुले आफू अभ्यस्त भएको प्रकृतिमै सौन्दर्य देख्न पुग्छन् । त्यसरी नै तराईमा बस्ने र उजाड मरुभूमिमा बस्नेहरु पनि आ–आफ्नै प्राकृतिक भूगोलमा अभ्यस्त हुँदै तिनैमा सौन्दर्य देख्न र खोज्न पुग्छन् । जुन भूगोल र प्रकृतिले आफ्नो अस्तित्व स्थापित ग¥यो त्यसमा सौन्दर्य नदेख्ने कुरै भएन । अरुका दृष्टिमा जति नै कुरुप भएपनि आफूलाई जन्माउने आमा सन्तानका लागि सबैभन्दा सुन्दर र प्रिय लाग्दछन् भने आफ्ना सन्तान बाबु आमाका लागि प्रिय नै लाग्दछन् ।
हजारौं–लाखौं खर्चेर पहाडका थुम्काथुम्की र बजारका छेउकुनामा ठड्याइएका स–साना मन्दिरहरु कुनै वेवारिसे शव जस्ता र कुनै स्मारक जस्ता बनेको पाइन्छ ।
तर यी सबै तर्क र सत्यताका बीच पनि जव प्राकृतिक सौन्दर्यको कुरा आउँछ त्यसबेला पहाडी भूभागहरु सापेक्षतामा बढी सुन्दर जस्ता लाग्दछन् । यसको एउटा कारण के पनि हो भने पहाडी भूगोलमा पाइने विविधता । तराईका विशाल फाँटहरुमा लहलह झुलिरहेका धान कसलाई सुन्दर नलाग्ला र ? तर तराईका फाँटहरुमा पहाडमा जस्तो विविधता पाउन सकिँदैन । त्यहाँको एकै खाले भूगोलका वीच एकै खाले प्रकृति रहेको पाइन्छ, त्यसैले प्राकृतिक सौन्दर्यमा पनि एकरसता भेटिन्छ । तर, पहाडका प्रत्येक ठाउँका डाँडा–काँडा, भीर–पहरा, खोला र झर्नाहरु फरक बान्की र आकृतिका पाइन्छन् । यसैले एकै खाले भूगोलभित्र पाइने प्राकृतिक विविधता पहाडी सौन्दर्यको मूल पक्ष हो कि जस्तो लाग्छ ।
राजमार्गको धेरै टाढा नभएर पनि मानिसका दृष्टिबाट ओझेल परेको त्यस्तै एउटा सुन्दर ठाउँ पुग्ने अवसर जुरायो ‘आँबुखैरनी वाङ्मय परिषद्’ले । उक्त परिपरिषद्का अध्यक्ष कवि अनिल श्रेष्ठको निम्तोमा तनहुँको सत्रसय फाँटदेखि करिव बीस–बाइस किलोमिटर उत्तरी पहाडको फेदीमा रहेको आदिमूल (मगर भाषामा आँडीमूल)मा पुग्दा एउटा छुट्टै अनुभूति हुन पुग्यो । सम्भवतः त्यहाँ पुग्ने धेरैलाई पृथक अनुभूति दिलायो होला । यात्रुहरुलाई छुट्टै अनुभूति दिलाउन सक्नुमा नै ठाउँ विशेषको विशेषता रहेको हुन्छ । वरिपरि अग्ला पहाडको बीचमा रहेको केही फराकिलो खोंच । उत्तरतिर घना जङ्गल र त्यसको फेदीलाई छेडेर निस्केको चीसो पानीकोे मूल र त्यहाँबाट प्रवाहित विशाल जलराशि । त्यही मूलको पानी जम्मा गरेर बनाइएको तलाउ । तलाउ भरिएर जाने पानीलाई विभिन्न धाराहरु बनाएर छाडिएको । केही तल अर्को सानो सुन्दर पोखरी । अत्यन्त निर्मल र स्वच्छ पानीमा विचरण गरिरहेका माछाहरु !
भूगोल र प्रकृतिको केही पृथकपन देख्नासाथ त्यहाँ देवताको कल्पना गर्दै मन्दिर स्थापना गरिहाल्ने हाम्रो संस्कार भनौं कि चिन्तन ! अहिले झन् झन् मौलाइरहेछ मन्दिर स्थापना गर्ने लहर । हाम्रा कुनै पनि गाउँ–टोल छैनन् जहाँ दुई–चारवटा मन्दिर स्थापना नगरिएको होस् । अहिले त झन् हरेकजसो पालिका र वडाहरुले आफ्नो बजेटको केही रकम मन्दिर निर्माण वा मर्मतका लागि छुट्याउने गरेका छन् । स्थानीय आमा समूहहरुको पहिलो प्राथमिकता मन्दिर निर्माण गर्नु रहेको पाइन्छ । यसभित्रको मनोविज्ञानलाई खोतल्दा धेरै कुरा थाहा पाउन सकिन्छ । कुनै युवतीले योग्य वरको प्रतीक्षा गर्दागर्दै बूढिकन्या हुनुपरेको अवस्था भोगिरहेका छन् अधिकांश मन्दिरहरुले ।
हजारौं–लाखौं खर्चेर पहाडका थुम्काथुम्की र बजारका छेउकुनामा ठड्याइएका स–साना मन्दिरहरु कुनै वेवारिसे शव जस्ता र कुनै स्मारक जस्ता बनेको पाइन्छ । तर, करोडौं खर्चेर बनाइएका भव्य र आकर्षक मन्दिरहरुमा भने त्यसै सोहिरिएका देखिन्छन् मानिसहरु । आदिमूलमा पनि देख्न सकिन्थ्यो—तलाउको वीचमा स्थापना गरिएको मन्दिर । मन्दिर हेर्दा डेढ–दुई दशक पुरानो जस्तो देखिन्थ्यो । प्रकृतिलाई नै ईश्वर मान्ने वैदिककालपछि लेखिएका कतिपय पुराणहरुमा बहुदेवताको कल्पना गर्दै तिनलाई अनेक मिथकहरुले जेल्दै लगेको पाइन्छ । पौराणिक कथामा वर्णित अनेकौं देवताहरुमध्ये यस तलाउको बीचमा रहेको मन्दिरलाई बराह मन्दिर भनिँदो रहेछ । पुराण अनुसार हिरण्याक्ष भन्ने दैत्यले पृथ्वीलाई लगेर समुद्रमा फादिदिएपछि भगवान विष्णुले बँदेलको रुप लिई त्यस राक्षसलाई मारी पृथ्वीलाई आफ्नो दाह्रामा राखेर ल्याएका थिए रे ! तिनै पौराणिक मिथक(मिथ्या कथा) हरुलाई हामी अहिले पनि पत्याउँदै÷मान्दै आएका छौं ।
यहाँको प्राकृतिक छटालाई धेरैले आफ्ना मोबाइलमा कैद गर्न पुगे भने सँगै गएका चित्रकारले आफ्ना क्यानभासमा उतार्न लागे । राजमार्गबाट धेरै टाढा नभएपनि एउटा छुट्टै संसार जस्तो लाग्ने यो ठाउँलाई काव्योत्सवको थलो बनाउने आयोजकको सोच प्रशंसनीय थियो । गाउँपालिकाका अध्यक्ष साहित्य प्रेमी मात्र नभएर कला–साहित्यका मर्मज्ञ पनि रहेछन् । उनैको पहलमा वाङ्मयको उन्नयन र विकासका लागि गाउँपालिकाले बजेटै छुट्याएर ‘आँबुखैरनी वाङ्मय परिषद्’ गठन गरेको रहेछ । हुन त प्रदेश संरचनामा गएसँगै कतिपय नगर, गाउँ र प्रदेशस्तरमा साहित्यको नाउँमा विभिन्न प्रतिष्ठानहरु स्थापना नगरिएका होइनन् तर अधिकांश त्यस्ता प्रतिष्ठानहरु वाङ्मयको विकासमा भन्दा राजनीतिक पार्टीका बेरोजगार कार्यकर्तालाई जागिर खुवाउने केन्द्रका रुपमा स्थापित हुन पुगेका छन् ।
यसैले पनि यस्ता सरकारी प्रतिष्ठानप्रति जनस्तरमा त्यति सकारात्मक धारणा पाइँदैन । तर यहाँको वाङ्मय परिषद्को संरचना हेर्दा त्यस्तो देखिँदैन । स्थानीय स्तरमा भेटेसम्मका इमानदार व्यक्तिहरुलाई विना आग्रह समेटिएको देखिन्छ । फेरि अर्को प्रशंसनीय पक्ष के देखिन्छ भने स्रोत हुँदाहुँदै पनि त्यस परिषद्का सदस्यहरुले कुनैपनि किसिमको पारिश्रमिक नलिई वाङ्मयिक कर्म गर्ने निर्णय नै गरेका रहेछन् । यसलाई साँच्चीकै एउटा अनुकरणीय कार्य मान्न सकिन्छ ।
स्थानीय कलाकारहरुको कौडा नृत्यबाट सुरु गरिएको कविता वाचन कार्यक्रमको वीच–बीचमा स्थानीय कलाकारहरुको सुमधुर गीत गुञ्जिनुले त्यहाँको प्राकृतिक वातावरणलाई थप कलात्मक बनाइदिएको थियो । आठ–नौ जिल्लाका तीन दर्जन बढी कविहरुको रागात्मक स्वर आदिमूलका वन–जङ्गल, डाँडा–पाखामा गुञ्जिदा प्रकृति र सिर्जना एकाकार भएझैं लाग्दथ्यो । मकवानपुरका पुरुषोत्तम आचार्य मिस नेपालका नाउँमा अङ्ग र फेसन प्रदर्शन गर्न लगाउने उपभोक्तावादी पुँजीवादका विरुद्ध छन्दोबद्ध स्वर उरालिरहेका थिए भने लोकतन्त्रका नाउँमा देशमा भएका विसङ्गत र विडम्बनापूर्ण अवस्थाप्रति काठमाडौंका मनिराज सिंह कविताको बिम्बात्मक झटारो प्रहार गरिरहेका थिए । लमजुङका रुपीन्द्र प्रभावी आफ्नो सुमधुर गजलमा अन्यायको जन्जिर तोड्न आह्वान गरिरहेका थिए ।
अघिल्लो दिन सम्मानित भएका कवि डा.खुमनारायण पौड्याल शरदका पातसँग जीवनको तुलना गर्दै सुन्दर कविता प्रस्तुत गरिरहेका थिए । कविताले यहाँको प्राकृतिक परिवेशको चित्रण गर्नुका साथै काव्यिक विम्व र प्रतीकका माध्यमबाट राजनीतिक वेथिति, भ्रष्टता, विकृति, विसङ्गति र विभेद विरुद्ध व्यङ्ग्य र विद्रोहका स्वरहरु उरालेका थिए । समग्रमा हेर्दा यहाँ वाचित मुक्तक र गजलदेखि छन्द र गद्य शैलीका कविताहरुले कलात्मक र लयात्मक स्वरमा देशको अवस्था दर्शाइरहेका थिए । गीतकार तथा गायक कमल सापकोटाले आफ्नो सुमधुर गायनद्वारा सबैलाई मुग्ध पारेका थिए ।
अघिल्लो दिनको स्रष्टा समाजको सम्मान कार्यक्रम होस् या भोलिपल्टको वाङ्मय परिषद्को काव्यउत्सव होस् यसको व्यवस्थापनमा कमी–कमजोरी हुन नदिन परिषद् अध्यक्ष निकै दौडधुप गरिरहेका थिए । संस्थाको कार्यसमितिमा बस्न धेरैले जोडबल गर्ने तर काम गर्नुपर्दा पछि हट्ने प्रवृत्ति धेरैतिर पाइन्छ । यहाँ पनि अध्यक्षले नै सबैतिरको चर्को कार्य–बोझ बहन गर्नुपरेको स्पष्ट देखिन्थ्यो । कार्यक्रम सञ्चालनको तौर तरिका अन्यत्रको भन्दा केही भिन्न र नवीन लाग्दथ्यो । हरेकजसो कार्यक्रममा देखिने केही व्यक्तिलाई विशेष मान्दै मञ्चमा माथि उकाल्ने र अरु सबैलाई तल अलि फरक दुरीमा बसाल्ने एक किसिमको विभेदकारी र सामन्ती परिपाटीलाई यसले भत्काएको थियो । आफूलाई क्रान्तिकारी भन्ने पार्टीका कार्यक्रममा समेत राजा र रैतीको जस्तो व्यवहार गर्दै कसैलाई माथिल्लो चौकामा भव्य सोफासेटमा बसाउने र कसैलाईचाहिँ रैतीझैं तल राख्ने परिपाटी कायम हुनु भनेको सामन्ती संस्कारकै अवशेष हो भन्न सकिन्छ ।
तर यहाँको कार्यक्रममा कसैलाई पनि माथि नउकाली सबैलाई तलै राख्ने र विशेष अतिथि र सम्मानित व्यक्तिहरुलाई अघिल्लो पंक्तिमा आसन ग्रहण गराउने परिपाटी प्रशंसनीय र अनुकरणीय थियो । कसैलाई सम्मान गरिँदा र केही कुरा बोल्नु पर्दा मात्र सबैले देख्ने गरी अघि आएर बोल्ने अन्यथा राष्ट्रपति, प्रधानमन्त्री वा जुनसुकै ओहोदाको किन नहोस् सबै एकै तहमा बस्ने पश्चिमा परिपाटीको राम्रो पक्षलाई हामीले अनुशरण गर्नैपर्ने हुन्छ ।
हाम्रा अधिकांश साहित्यिक वा वाङ्मयिक संस्था वा प्रतिष्ठानहरुले गर्ने कार्यक्रम प्रायः कविता वाचनमै परिसीमित हुने गरेको पाइन्छ । कविता वाचन साहित्यिक कार्यक्रमको एउटा महत्वपूर्ण पक्ष त हुँदै हो तर वाङ्मयको उन्नयन र विकासका लागि काव्यिक वा साहित्यिक बहस, अन्तरक्रिया, लेखन–प्रशिक्षण जस्ता कार्यक्रमहरु पनि गरिनु आवश्यक हुन्छ । मोफसलको पनि मोफसल भन्न सकिने तनहुँको एउटा गाउँपालिका र त्यहाँका केही निष्ठावान वाङ्मयसेवीहरुले गरेको दुईदिने वाङ्मयिक कार्यक्रम सापेक्षतामा निकै सुन्दर र सार्थक रहेको महसूस हुन पुग्यो ।




