व्यक्ति खराब हुँदा व्यवस्थाप्रति नै वितृष्णा बढ्यो

पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) ले संबिधान कार्वान्वयन सम्बन्धमा आसन्न निर्वाचनमा उम्मेद्वार छनौटका आधार विषयमा छलफल गरेको छ ।

कार्यक्रममा डा गिरधारी दाहालले नेपालका संबिधानको ईतिहास र आसन्न निर्वाचनमा उम्मेद्वार छनौटका आधारका विषयमा प्रकाश पारे । एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले हाल संबिधान कार्वान्वयनकै क्रममा रहेको र देशमा भैरहेका सकारात्मक पक्षभन्दा नकारात्मक कुराहरुको बढी उजागर गरिएको हुनाले संघियताका विषयमा नकारात्मक टिप्पणी भएको तर्क गरे । उनले अहिलेको व्यवस्था राम्रो भएको तर केही व्यक्तिहरु नराम्रा भएका कारण व्यवस्थाकै बिरोध गर्न नहुने धारणा राखे ।

कार्यक्रममा सोसाईटीका सहकोषाध्यक्ष क्या सन्तबहादुर लामिछाने नेपालकै पहिलो हट एअर बेलुनका प्रविधिक बन्न सफल भएकोमा संस्थाका बिधान मस्यौदा समितिका संयोजक अधिवक्ता माधवराज बॅास्तोला हालै बरिष्ठ अधिवक्ता बनेकोमा सोसाइटीले सम्मान गरेको छ ।

प्राडा उमानाथ बरालले हाल राजनीतिलाई सेवाभन्दा पेशा बनाईएको, पैसाको बलमा चुनावमा टिकट पाउने, जित्ने प्रवृत्ति रहेको, बारम्बार एउटै व्यक्तिहरु चुनावमा उठ्ने लगायतका कारण योग्य व्यक्तिहरु उच्च राजनैतिक पुगमा पुग्न नसकेको र राजनीतिमा सुधार हुन नसकेको विचार राखे ।

राजनीतिशास्त्रका प्राध्यापक गजेन्द्रप्रसाद च्वाईॅले राजनीति गर्ने व्यक्तिमा नैतिकता र सादगीपन एकदमै आवश्यक रहेको जनाए । अहिलेका राजनैतिक दलका नेताहरु विलासी जिवन व्यतित गर्ने तर भन्ने बेलामा देश र जनताको लागि राजनीति गरेको भन्ने कुरा एकदमै नमिल्ने कुरा भएको जिकिर गरे ।

कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले संस्थाले आउॅदा दिनहरुमा पनि आफ्नो उद्देश्य अनुरुप आफ्ना काम गर्ने अपेक्षा गरे । राजनीतिशास्त्र बिभागका विभागीय प्रमुख प्रा थानबहादुर क्षेत्रीले अहिलेका राजनैतिक दलहरु कुनै दर्शनबाट नभई बिचौलियाद्वारा चलेको आरोप लगाए । सोही कार्यक्रममा पोलिटिकल साईन्स सोसाइटी नेपालले ५ बॅुदे घोषणा पत्र जारी गरेको छ ।

संस्थाका अध्यक्ष सुभाष ढॅुगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कॅाग्रेसका पूर्व महासमिति सल्लाहकार आनन्दराज मुल्मी लगायतले धारणा राखेका थिए ।