पोखरा नर्सिङ्ग क्याम्पसले पायो क्युएए प्रमाणपत्र

पोखरा नर्सिङ्ग क्याम्पस, पोखराले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्य’एए) प्रमाणपत्र पाएको छ ।

आइतबार विश्वविद्यालय अनुदान आयोगको सभाकक्ष, सानेठिमी भक्तपुरमा आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले पोखरा नर्सिङ्ग क्याम्पस, पोखराका क्याम्पस प्रमुख प्रा नीता ताम्राकारलाई एक समारोहबीच प्रमाणपत्र प्रदान गरे ।

सँगसँगै बिराटनगर नसिङ्ग क्याम्पस र झापाको कनकाई बहुमुखी क्याम्पसले पनि क्यूएए प्रमाणपत्र प्राप्त गरेका छन् । पोखरा नसिङ्ग क्याम्पसले सो प्रमाणपत्र प्राप्त गर्नका लागि २०७६ माघमा आयोगबाट आसय पत्र प्राप्त गरी प्रक्रिया थालनी गरेको थियो ।

क्याम्पस प्रमुखको संयोजकत्वमा आइक्य’एसी र सह–प्राध्यापक शारदा शर्माको संयोजकत्वमा स्वमूल्यांकन टोली गठन गरिएको थियो । प्रक्रिया पूरा गर्न गठित समिति अन्तर्गत बिभिन्न समिति र उप–समितिसमेत गठन गरी काम भएको थियो ।

समारोहमा पोखरा नर्सिङ्ग क्याम्पसका स्याट कमिटी संयोजक शारदा शर्मा तथा सदस्यहरु सृजना पौडेल र अन्जु पौडेलसमेत सहभागी थिए । क्याम्पस प्रमुख ताम्राकारले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजान सबै शिक्षक, कर्मचारी र विद्यार्थीको अथक मेहनत र परिश्रमबाट मात्र सम्भव भएको बताइन् । उनले संस्थाले प्रदान गर्ने उच्च शिक्षामा गुणस्तरीयता कायम राख्ने प्रतिवद्धता जनाइन् ।