रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदको प्रवेशले जिल्लामा तरंग ल्याएको छ ।
प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्।
रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक व्यक्तित्वहरुको प्रवेश भएको तथा सोको प्रतिनिधित्व गर्दै डा प्रदीप ढकाललाई मन्तव्य दिन बोलाए ।
मन्तव्यका क्रममा डा ढकालले आफ्नो पृष्ठभूमि खुलाएनन्, न त उद्घोषकले नै खुलाएका थिए । बरु ठूला दलहरुले देशलाई निकास नदिएकाले रेशमको पार्टीमा प्रवेश गरेको उनले बताए । रेशमको पार्टी प्रवेश गर्ने डा प्रदीप ढकाल पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव हुन् । कोषको सदस्य सचिवमा उनलाई २०७४ साउन ३२ मा नियुक्त गरिएको थियो । नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तात्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका थिए ।
लोकतान्त्रिक फोरमलाई अध्यक्ष विजयकुमार गच्छदारले पछि काँग्रेसमा विलय गराएका थिए । पहिले लोकतान्त्रिक फोरममा आवद्ध धेरै कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिरहेका छन् ।
आफ्नो पढाइ कैलालीमा भएको तथा रेशम साथी भएको नाताले पनि पार्टी ज्वाइन गर्न मन बनाएको डा ढकालले बताए । उनले रातोपाटीसँग भने, ‘पूर्ण राजनीति गर्ने मनसुवा छैन । तर नागरिक उन्मुक्ति पार्टीको फ्रन्टलाइनमा देखिएको छु । पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नेछु ।’
डा ढकाल बर्दिया क्षेत्र नं १ अन्तर्गत बारबर्दियाका स्थायी वासिन्दा हुन् । स्मरण रहोस्, बर्दिया क्षेत्र नं २ बाट संसदीय चुनाव लड्ने रेशमले उद्घोष गरेका छन् ।




